काठमाडौँ, ४ जेठ । नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेकाे आरोपमा प्रहरीले मियालाई पक्राउ गरेको हो । गृह मन्त्रालयले समितिलाई उपलब्ध गराएको बी.ए.बी–१४०५ नम्बरको निशान जिप यो प्रकरणमा प्रयोग भएकाे अनुसन्धानबाट खुलेको थियो ।
यही गाडी अध्यक्ष मियाँले शरणार्थीको नाममा ठग्ने गिराेहलाई उपलब्ध गराएका थिए । पीडितहरूलाई बायोमेट्रिक गराउन र अन्तर्वार्ता दिन बोलाएर गिरोहका सदस्यहरू यो गाडीमा जाने गरेका थिए ।

चितवनको सौराहा र काठमाडौँका सुन्धारालगायत ठाउँमा अन्तर्वार्ता लिन जाँदा गिरोहका सदस्यहरूले समितिको गाडी प्रयोग गरेको अनुसन्धानबाट खुलेको छ । यो जिप गृह मन्त्रालयअन्तर्गतको नेपाल हज समितिको नाममा छ । प्रहरीले अनुसन्धान थालेपछि नेपाल हज समितिका अध्यक्ष मियाँ सम्पर्कविहीन भएका थिए । नक्कली शरणार्थी प्रकरणमा पक्राउ पर्नेको संख्या १५ पुगेको छ ।