काठमाडौँ, २ जेठ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा जस्तो सुकै दबाब आए पनि नझुक्ने दृढता व्यक्त गरेका छन् ।
राज्यव्यवस्था तथा सुशासन समितिको आजको बैठकमा गृहमन्त्री श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा कुनै पक्षपात नहुने भन्दै जस्तो सुकै दबाब आए पनि नझुक्ने बताएका हुन् । अनुसन्धानबारे समितिका सदस्यले राखेको जिज्ञासमा उनले यो घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकार दृढ रहेको बताए ।
श्रेष्ठले यो प्रकरणको अनुसन्धानका लागि प्रहरी अहोरात्र खटिरहेको जानकारी दिँदै प्रहरीलाई सुरुआतदेखि नै कुनै राजनीतिक दबाब वा अवाञ्छनीय प्रभावबाट मुक्त रहन कडा निर्देशन दिएको पनि स्मरण गरे ।
भ्रष्टाचार र कमिसनको जालोले देशलाई बर्बाद गरेकाले त्यसको अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको भन्दै उनले सुशासन कायम गरी समृद्धि हासिल गर्ने वर्तमान सरकारको पहिलो कार्यभार रहेकोसमेत बताएका थिए ।