काठमाडौँ, ३१ वैशाख । संघीय संसदमा प्रतिनिधित्व गर्ने तीन ठूला दलका संसदीय दलका नेता र प्रमुख सचेतकहरूबीच छलफल भएको छ।
आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठक जारी संसद अधिवेशनलाई प्रभावकारी बनाउने र विभिन्न समितिहरू गठन गर्ने विषयमा केन्द्रित रहेको माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डेले जानकारी दिनुभयो।
बैठकमा सत्य निरूपण तथा मेलमिलापसम्बन्धी विधेयकलाई छिटो टुंगोमा पुर्याउन संसदीय उपसमिति गठन गर्ने, संसदीय समितिहरूको नेतृत्व र प्रतिनिधित्व सहमतिका आधारमा गर्ने, संसदीय सुनुवाइ समिति गठन गर्नेलगायतका विषयमा छलफल भएको थियो ।
‘‘निकै सकारात्मक छलफल भएको छ। संसदको बजेट अधिवेशन जारी छ, संसदलाई प्रभावकारी बनाउन समझदारीका साथ अगाडि बढ्ने विषयमा छलफल भयो’’ मुख्य सचेतक पाण्डेले भन्नुभयो, ‘‘संसदका विषयगत समितिहरू गठन गर्न बाँकी छ, सत्य निरूपणसम्बन्धी विधेयकलाई प्राथमिकता दिएर अगाडि बढाउनुपर्नेछ, संसदीय सुनुवाइ समितिसमेत गठन भइसकेको छैन। यिनै विषयमा छलफल भयो। संसद सहमतिका साथ अगाडि बढाउनेमा हामी एकमत छौँ। छिट्टै निष्कर्षमा पुग्छौँ।’’
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवा, नेकपा एमाले संसदीय दलका नेता केपीशर्मा ओली, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का, माओवादी केन्द्रका मुख्य सचेतक हितराज पाण्डे, नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखक , नेकपा एमालेका नेता सुवास नेम्वाङ सहभागी हुनुहुन्थ्यो।