काठमाडाैँ, १९ वैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा उपचारका क्रममा भएको खर्च आफै ब्यहोर्ने जानकारी दिएका छन् । उच्च ओहदामा रहेकाले बिरामी हुँदा विदेशमा उपचार गराउने अनि सरकारको पैसा खर्च गर्ने गरेको टिप्पणी हुन थालेपछि राष्ट्रपति पाैडैलले व्यक्तिगत खर्चमै उपचार गर्ने घोषणा गरेका हुन् ।
उपचारका क्रममा भएको सम्पूर्ण खर्च राष्ट्रपति स्वयम् ब्यहोर्न चाहेको प्रेस संयोजक खिला कार्कीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । राष्ट्रपति पौडेलको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल हुँदै भारतको नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको थियो ।
राष्ट्रपति पौडेल ११ दिन उपचार गराएर आइतबार राति स्वदेश फर्किएका थिए । सोमबार मात्रै नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उपचारमा सरकारी ढुकुटीको रकम खर्च गर्न नहुने बताएका थिए । थापाले लोकतन्त्रमा चल्दै आएको गलत अभ्यासको अन्त्य गर्नुपर्ने पनि बताएका थिए ।