काठमाडौँ, १९ वैशाख । नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा यूएईलाई सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यूएईले दिएको ११८ रनको लक्ष्य नेपालले ३ विकेटको क्षति ३०.३ ओभरमा पूरा गरेको थियो ।

नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन बनाएका थिए । त्यस्तै, भीम सार्कीले ३६ रन बनाएका थिए । कप्तान रोहित पौडेल, कुशल भुर्तेल र आसिफ शेख दोहोरो अंक नजोडी पेभेलियन फर्किएका थिए । नेपालले आठ ओभर खेल्दा सुरुआती तीन विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल एक, आशिफ शेख आठ तथा कप्तान रोहितकुमार पौडेल मात्र एक रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो ।

नेपालको पारी गुलसन झा र भीम सार्कीले सुधारेका थिए । झाले ६७ र सार्कीले ३६ रनको योगदान दिए । झाले ८४ बल खेल्दै छ छक्का र तीन चौका प्रहार गरे । त्यस्तै सार्कीले ७१ बल खेल्ने क्रममा चार चौका हाने । बलिङतर्फ यूएईका लागि रोहन मुस्ताफाले दुई तथा आयान अफ्जल खानले एक विकेट लिए । यसअघि सोमबार टस हारेर पहिला ब्याटिङ गरेको यूएईले सबै विकेट गुमाउँदै ११७ रन बनाएको थियो । यूएईले लागि आसिफ खानले ५४ बलमा सात चौका र एक छक्काको सहयोगमा ४६ रन बनाएको थियो ।
ओपनर आर्यान लाक्राले २८ बलमा १३ रन बनाएका थिए । नेपालका लागि ललितनारायण राजवंशीले चार विकेट लिए । त्यस्तै करण केसी र सन्दीप लामिछानेले समान दुई–दुई तथा गुलसन झा र सोमपाल कामीले समान एक–एक विकेट लिए । हिजो यूएईले २७ दशमलव ३ ओभरमा नौ विकेटको क्षतिमा १०६ रन बनाउँदा वर्षाका कारण खेल स्थगित भएको थियो ।
फाइनल खेलका लागि रिजर्भ डे राखिएकाले हिजोको खेलको निरन्तरता आज भएको हो । याे जितसँगै नेपालले आगामी सेप्टेम्बरमा हुने एसिया कपमा स्थान पक्का गरेको छ । नेपालले एसिया कपमा समूह ‘ए’मा रहेका भारत र पाकिस्तानसँग खेल्नेछ । एसिया कपको समूह ‘बी’ मा अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेश छन् ।