काठमाडौँ, १७ वैशाख। भारतमा उपचार गराइरहेका राष्ट्रपति रामचन्द्र पौडेल आज स्वदेश फर्किँदै छन् । ११ दिनदेखि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार गराइरहेका राष्ट्रपति पौडेल डिस्चार्ज भई स्वदेश फर्किन लागेको राष्ट्रपतिका परराष्ट्र सल्लाहकार डा. सुरेश चालिसेले जानकारी दिएका हुन् ।
पाैडैल बेलुकी ८:३० बजे नेपाल एयरलाइन्सको नियमित उडानबाट फर्किने तय भएको छ । स्वास्थ्यमा समस्या आएपछि वैशाख ६ गते राष्ट्रपति पौडेललाई उपचारका लागि भारत लगिएको थियो । उनको उपचारमा एम्स अस्पतालका प्लमोनरी, क्रिटिकल केयर तथा स्लिप मेडिसिन विभागका प्रमुख प्रा.डा. अनन्त मोहन र आईसीयू विज्ञ डा. पुनीत मिश्रको टोली संलग्न छन् ।
राष्ट्रपति पाैडेललाई उपचारका लागि भारत लगिएपछि संघीय संसद्को बैठकमा सांसद्हरूले आलोचना गर्दै आएका थिए । राष्ट्रियसभाकी सदस्य डा.विमला राई पौड्यालले नेपालको स्वास्थ्य प्रणालीमाथि प्रश्न उठाएकी थिइन् ।
बुधबारको बैठकमा सांसद डा.पौडेलले राष्ट्रपति पौडेलको स्वास्थ्य उपचार नेपालमा किन सम्भव नभएको भन्दै प्रश्न गरेकी थिइन् । उनले वीर अस्पतालमा भीभीआईपीको उपचारका लागि राखिएको कक्षमा धुलो लागेकोसमेत टिप्पणी गरेकी थिइन् ।