जनकपुरधाम, १५ वैशाख । मधेश प्रदेशका प्रमुख हरिशंकर मिश्रले नेपाल–भारत भौगोलिक र राजनीति रूपमा अलग भए पनि सामाजिक र सांस्कृतिक रूपमा समान रहेको बताउनुभएको छ । जनकपुरधाममा शुक्रबार भारतीय दूतावासको स्वामी विवेकान्द सांस्कृतिक केन्द्र, महावाणिज्य दूतावास वीरगञ्ज, श्री जानकी मन्दिर र संवाद फाउण्डेशनको संयुक्त आयोजनामा भएको ‘जनकपुरधाम सांस्कृतिक महोत्वस’ मा प्रदेश प्रमुख मिश्रले यस्तो बताउनुभएको हो ।

उहाँले दुवै देशका नागरिकको धर्म, कला, संस्कृति, परम्परा एक समान रहेको पनि बताउनुभयो । दुवै देशबीच रहेको पारिवारिक, सामाजिक तथा सांस्कृतिक सम्बन्धलाई थप मजबुत बनाउन यस्ता कार्यक्रमले सहयोग पुर्याउन पनि उहाँले बताउनुभयो । प्रदेश प्रमुख मिश्रले सनातन कालदेखि दुवै देशबीच चल्दै आएको भाइचारा बढाउन पनि भारतीय दूतावास र महावाणिज्य दूतावासले विविध कार्यक्रममार्फत् भूमिका निर्वाह गर्दै आएको पनि उहाँको भनाइ छ । महोत्सवको पहिलोसत्रमा मिथिला फुड फेस्टिबलको आयोजन गरिएको थियो ।

महोत्सवमा विवेकान्द सांस्कृतिक केन्द्रकी निर्देशक आसावरी वापटले मिथिलाको भोजन सम्बृद्ध रहेको भन्दै हरेक प्रदेशको आ–आफ्नो खाद्य संस्कृति रहेको बताउनुभयोे । उहाँले खाद्य पनि एक संस्कृति रहेकाले यसलाई सम्बर्द्धन गर्नुपर्ने बताउनुभयो । त्यस्तै, महावाणिज्यदूत नितीश कुमारले मिथिला खानाका थुप्रै परिकार रहेको भन्दै सबैको आ–आफ्नै महत्व रहेको बताउनुभयो । महोत्सवका क्रममा मिथिलाको ८४ व्यञ्जनहरूको प्रदर्शनी गरिएको थियो । प्रदर्शनीमा झिल्ली, फोफी, तरुवा, विभिन्न किसिमका साग, तरकारी, बरी, कचरी, बिरिया, ठकुवा, अचारलगायत राखिएको थियो ।

स्वस्थ्य शरीरका लागि मिथिला खानाका सबै व्यञ्जनको महत्वबारे पनि महोत्सवमा जानकारी दिइएको थियो । साथै, मिथिला चित्रकलाको प्रदर्शनी र मिथिलामा बजाइने बाजाहरूबारे पनि जानकारी दिइएको थियो । महोत्वसको दोश्रोसत्रमा सांस्कृतिक कार्यक्रमको आयोजन गरिएको थियो ।
महोत्सवमा मिथिला नाट्यकला परिषद्लगायतका कलाकारहरूले प्रस्तुति दिएका थिए । महोत्सवमा संविधानसभा सदस्य डा. विजयकुमार सिंह, पूर्वमेयर बजरंगप्रसाद साह, जनकपुरधामका उपमेयर किशोरी साह, मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडी, परमेश्वर कापडी, टुडेज युथ एसियाका अध्यक्ष सन्तोष साहलगायत सहभागी भएका थिए ।