सामाजिक फिड-
जनकपुरधाम, चैत २० गते ।
आगामी वैशाख १० गते बारा–२, तनहुँ–१, र चितवन–२ मा हुने उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ ।
उपनिर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्ने समय तोकिएको छ ।
भोलि चैत २१ गते उम्मेदवारी विरुद्ध उजुरी दर्ता, चैत २२ गते उजुरीमाथि छानबिन र सोही दिन साँझ उम्मेदवारको नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको निर्वाचन आयोगले जनाएको छ ।
उम्मेदवारी फिर्ता लिन इच्छुकका लागि चैत २३ गते बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्मको समय तोकिएको छ । उम्मेदवारको अन्तिम नामावली प्रकाशन र चुनाव चिह्न पनि सोही दिन गरिने निर्वाचन आयोगले जनाएको छ ।
२०८० वैशाख १० गते बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म उपनिर्वाचनका लागि मतदान हुनेछ ।
गत मंसिर ४ को प्रतिनिधि सभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल राष्ट्रपति भएकाले, बारा २ बाट निर्वाचित जसपाका रामसहाय प्रसाद यादव उपराष्ट्रपति भएकाले र चितवन २ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नागरिकता विवादका कारण सांसद पदबाट मुक्त भएकाले ती क्षेत्रमा उपनिर्वाचन गर्न लागिएको हो ।