१० चैत्र,जनकपुर। नेपालको १२ औं राष्ट्रिय जनगणना २०७८ को नतिजा आज सार्वजनिक गरिएको छ । सोल्टी होटलमा आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय जनगणना २०७८ को नतिजा सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ रहेको छ । जसमध्ये पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५५१ (४८.९८ प्रतिशत) र महिलाको संख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । जस अनुसार लैङ्गिक अनुपात अर्थात् प्रति १०० जना महिलामा पुरुषको संख्या ९५.५९ जना रहेको छ ।
प्राधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको जनसङ्ख्या असन्तुलित देखिएको बताएका छन् । आज नेपालको जनगणनाको तथ्याङ्क सार्वजनिक गर्दै हिमाल र पहाडमा जनसङ्ख्या घटेको र तराईमा जनसङ्ख्या बढेको पाइएको बताएका हुन् ।
देशको जनसङ्ख्याका आधारमा विकासको नयाँ योजना बनाउन आवश्यक रहेको बताए । नयाँ तथ्याङ्क अनुसार नेपालको विकासको नयाँ योजना बनाउन सहज हुने प्रधानमन्त्री दाहालको भनाइ छ ।