१४ गते फाल्गुन, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधाममा बिगत ४ वर्ष देखि जनकपुर साहित्य महोत्सवको आयोजना हुदैं आएको छ। यसवर्ष पनि बडो हर्ष-उल्लाशका साथ जनकपुरधाममा साहित्य महोत्सव सम्पन्न भएको छ। नभ मिथिला फाउण्डेशनको आयोजना र फ्याकट्स नेपालको प्रमुख प्रयोजनमा साहित्य महोत्सव यहीं फाल्गुन ११ गते देखि १३ गतेसम्म जानकी मन्दिरको प्राङ्गणमा चलेको थियो।
चौथो पटक आयोजना भएको जनकपुर साहित्य महोत्सवको पहिलो दिन फाल्गुन ११ गते बिहिबार उद्घाटन भएको थियो। नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवलाई प्रमुख अतिथिको रुपमा आमन्त्रण गरिइएको महोत्सव आयोजक समितिका संयोजक प्रियङ्का झाले जानकारी दिनु भएको छ। पहिलो दिन अर्थात् उद्घाटन कै दिनमा विद्यालय स्तरीय वक्तृत्व कलाको समापन कार्यक्रम भयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई २१ हजार, ११ हजार र ५ हजार १ सय सहित सम्मानित गरिएको छ। महोत्सवको दोस्रो दिनमा पर्यावरण, समावेशिताको परिकल्पना र अभ्यास, राजनीतिक अभियान र अवसर, आफ्नो समाजलाई फर्केर हेर्दा, घुघट प्रथा, अन्तरविद्यालय कविता प्रतियोगिता भयो।
महोत्सवको तेस्रो दिन युवा संस्कार र परिकार, मैथिली साहित्य र रङ्गमञ्चको यात्रा, दुर्व्यसन, किन आवश्यक छ उत्सव, समाजको अर्थ र सामाजिक यात्रा, हामीले गुमाएको खेलकुद, सम्झना प्रदीप दाइ तथा विविध संस्कृतिक कार्यक्रम रहेको आयोजक समितिका संयोजक प्रियङ्का झाले जानकारी दिनुभयो।
साहित्य महोत्सवको संवाद कार्यक्रममा डा. सिके राउत, नेपाली काँग्रेसका महामन्त्री विश्व प्रकाश शर्मा, मास्टर सेफ संतोष साह, मैथिलीका प्रसिद्ध गायिका मैथिली ठाकुर, सासंद मनिष झा, शिशिर दहाल पनि सहभागी भएका थिए।