३० पुष,जनकपुरधाम। सुदूरपश्चिम प्रदेशसभाको सभामुख चयनको प्रक्रिया अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ ।
प्रदेश सचिवालयले आज दिउँसो एक सूचना जारी गरी प्रक्रिया स्थगित गरेको घोषणा गरेको छ । हिजो भएको सभामुखका लागि भएको मतदानमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् ।
आज बिहान ११ बजे पुनः सर्वदलीय बैठक बोलाइएको भएपनि पुनः निर्वाचनका लागि कुनै सहमति हुन नसकेपछि प्रक्रिया स्थगित भएको हो । सुदूरपश्चिममा निर्णायक शक्तिका रुपमा उदाएको नागरिक उन्मुक्ति पार्टीले पार्टीलाई तीनवटा मन्त्रालय दिने लिखित आश्वासन नदिएसम्म सभामुखको पुनः निर्वाचनमा सहभागी नहुने बताएको छ ।
सभामुखका लागि नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी उम्मेदवार छन् ।
हिजो भएको मतदानमा रावलको पक्षमा २३ मत परेको थियो भने भण्डारीले २६ मत पाएका थिए । ५३ सदस्यीय संसदमा कुल ५० सदस्यले मतदानमा भाग लिएका थिए भने एक मत बदर भएको थियो ।
निर्वाचन जित्नको लागि बहुमत प्राप्त गर्न २७ मत प्राप्त गर्नुपर्ने हुन्छ ।