२२ पुष, जनकपुरधाम। ललितपुर टेबलटेनिस क्लबको आयोजनामा माघ २१ देखि फागुन ४ गतेसम्म यहाँ पाँचौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता हुने भएको छ। नेपाल, भारत, पाकिस्तान, बंगलादेश, माल्दिभ्स, थाइल्याण्ड, संयुक्त अरब इमिरेट्स, जापान, फ्रान्स, इङ्ल्यान्ड र दक्षिण कोरियाका करिब ५ सय खेलाडी सहभागी छन्।
प्रतियोगितामा सहभागी हुने आयोजकले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। ललितपुर टेबलटेनिस क्लबका अध्यक्ष उर्दीप जोशी र सम्झना प्रयोगशाला क्लिनिककी निर्देशक रञ्जना श्रेष्ठ जोशीले समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार मुख्य प्रायोजक समझ्ना ल्याबोरेटरी क्लिनिकले रु २२ करोड ५० लाख अनुमानित बजेटको ५० प्रतिशत व्यहोर्ने छ। प्रतियोगितामा पुरुष र महिला विधामा एकल, डबल्स र टिम इभेन्टका साथै ४० र ५० माथिको पुरुष र महिलातर्फ ४० माथिका सात इभेन्टहरू हुनेछन्।
एकल र टिम इभेन्टमा शीर्ष तीन हुनेले क्रमशः ५० हजार, २५ हजार र १० हजार रुपैयाँ पाउनेछन् भने भेट्रानतर्फका विजेताले क्रमशः २० हजार, १० हजार र ५ हजार रुपैयाँ पाउनेछन्।