सामाजिक फीड–
जनकपुरधाम, साउन १९ गते ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा खाना पकाउने एलपी ग्यासको अभाव चर्किँदै गएको छ। डिलर र पसलहरूले ‘ग्यास छैन, नाम टिपाएर जानुस्’ भन्दै उपभोक्तालाई फर्काउन थालेपछि सर्वसाधारण खाली सिलिन्डर बोकेर डिलर-डिलर धाउन बाध्य भएका छन्। जनकपुर मात्र होइन, काठमाडौंसहित देशका विभिन्न जिल्लामा पनि यस्तै समस्या देखिएको छ। एक सिलिन्डर ग्यासका लागि हप्तौँसम्म कुर्नुपर्ने अवस्था बनेको छ भने विद्यार्थी, साना परिवार र दैनिक ज्यालादारी गर्नेहरू सबैभन्दा बढी प्रभावित भएका छन्।
जनकपुरका रामानन्द चोक, पिडारी चोक, थापा चोक, भानु चोक, मुरली चोक र पेठिया बजारलगायत क्षेत्रमा अधिकांश डिलरले ग्यास उपलब्ध गराउन सकेका छैनन्। केही डिलर बन्द छन् भने खुलेका डिलरले पनि ग्यास आएपछि फोन गर्ने भन्दै उपभोक्ताको नाम टिपिरहेका छन्।
व्यवसायीहरूका अनुसार अहिलेको संकट ग्यास आयात घटेका कारण होइन। यसअघि आधा भरिएको ७।१ किलो ग्यास वितरण गरिँदै आएकोमा सरकारले पुनः १४।२ किलो भरिएको सिलिन्डर वितरण सुरु गरेपछि लामो समयदेखि थन्किएका हजारौँ खाली सिलिन्डर एकैपटक रिफिलका लागि बजारमा आउँदा माग अस्वाभाविक रूपमा बढेको उनीहरूको भनाइ छ। त्यससँगै उपभोक्ताले आवश्यकताभन्दा बढी सिलिन्डर भण्डारण गर्न थालेपछि आपूर्ति प्रणालीमा थप चाप परेको व्यवसायीहरूको दाबी छ।
नेपाल एलपी ग्यास उद्योग संघले पनि नीतिगत ढिलाइका कारण बजारमा एक्कासि दबाब बढेको जनाएको छ। संघका अनुसार ग्यासको आयात नियमित छ र सामान्य अवस्थाभन्दा ५–७ प्रतिशत बढी आपूर्ति भइरहेको छ। तर, एकैचोटि बढेको मागका कारण तत्काल सबै उपभोक्तालाई ग्यास उपलब्ध गराउन कठिन भएको उनीहरूको भनाइ छ।
यता नेपाल आयल निगमले भने देशव्यापी ग्यास अभाव नरहेको दाबी गरेको छ। निगमका अनुसार केही स्थानमा मात्र अस्थायी चाप देखिएको हो र माग व्यवस्थापन गर्न दैनिक ग्यास आपूर्ति तथा बुलेट संख्या बढाइएको छ। कालोबजारी भएको प्रमाण अहिलेसम्म नभेटिएको दाबी गर्दै निगमले वृद्धवृद्धा, विद्यार्थी, बिरामी र सुत्केरीलाई प्राथमिकतामा राखेर ग्यास वितरण गर्न डिलरहरूलाई निर्देशन दिएको जनाएको छ।
समग्रमा, ग्यास आयातमा कमी नभए पनि सरकारको वितरण नीति परिवर्तनको प्रभाव, बजार व्यवस्थापनमा कमजोरी र उपभोक्ताको त्रासका कारण आवश्यकताभन्दा बढी सिलिन्डर संकलन गर्ने प्रवृत्तिले जनकपुरदेखि काठमाडौंसम्म ग्यास संकट गहिरिएको देखिएको छ।