सामाजिक फीड–
जनकपुरधाम, साउन १३ गते ।
सुनसरीमा भएको घटनापछि उत्पन्न हुन सक्ने सम्भावित प्रभावलाई मध्यनजर गर्दै मधेश प्रदेशका आठवटै जिल्लामा सुरक्षाव्यवस्था कडा पारिएको छ। जिल्ला प्रशासन कार्यालय र सुरक्षा निकायले सदरमुकाम तथा प्रमुख बजार क्षेत्रमा प्रहरी परिचालन बढाउनुका साथै सामाजिक सद्भाव कायम राख्न राजनीतिक दल, नागरिक समाज र धार्मिक अगुवासँग समन्वय तीव्र बनाएका छन्। प्रदेशका आठवटै जिल्लामा सुरक्षा निकाय ‘हाइ अलर्ट’ मा राखिएको छ।
संवेदनशील स्थानमा थप निगरानी, नियमित गस्ती र सूचना संकलनलाई तीव्र पारिएको सुरक्षा अधिकारीहरूले बताएका छन्। प्रशासनले कुनै पनि अफवाहमा विश्वास नगर्न र सामाजिक सञ्जालमा भ्रामक सामग्री नफैलाउन पनि सर्वसाधारणसँग आग्रह गरेको छ।
जिल्ला प्रशासन कार्यालय धनुषाको पहलमा मंगलबार जनकपुरधाममा सर्वदलीय तथा सर्वपक्षीय बैठक सम्पन्न भएको थियो । बैठकले सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र सामुदायिक एकता कायम राख्न सबै पक्षले सक्रिय भूमिका निर्वाह गर्ने, कुनै पनि उक्साहटपूर्ण वा अवाञ्छित गतिविधिलाई निरुत्साहित गर्ने तथा आवश्यक समन्वय र सहकार्यलाई प्रभावकारी बनाउनेलगायत छ बुँदे निर्णय गरेको छ।
धनुषाका सहायक प्रमुख जिल्ला अधिकारी भूदेव झाले बहुभाषिक, बहुजातीय र बहुधार्मिक पहिचान भएको समाजमा आपसी भाइचारा, सहिष्णुता र सामाजिक सद्भाव कायम राख्नु सबैको साझा दायित्व भएको बताए । विभिन्न धर्म, जातजाति, भाषाभाषी र समुदायबीच पारस्परिक सम्मान र सहकार्यलाई अझ सुदृढ बनाउन सबै पक्षले आ–आफ्नो क्षेत्रबाट भूमिका खेल्ने निर्णय भएको पनि उनले बताए ।
बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, चारवटै सुरक्षा निकायका प्रमुख, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख मनोज साह, विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज तथा विभिन्न धर्मका धर्मगुरुको सहभागिता रहेको थियो।
उता सर्लाहीमा पनि सुरक्षा सतर्कता बढाइएको छ। सुनसरी घटनाको प्रभाव अन्य जिल्लामा पर्न सक्ने आकलन गर्दै सोमबार मलङ्गवामा सर्वपक्षीय बैठक बसेको थियो। बैठकमा धार्मिक संघसंस्थाका प्रतिनिधि, नागरिक अगुवा र सुरक्षा समितिका पदाधिकारीले सामाजिक सद्भाव र आपसी सम्मान कायम राख्न संयुक्त अपिल गरेका छन्।
बैठकले सामाजिक सद्भाव बिथोल्ने कुनै पनि गतिविधिलाई प्रश्रय नदिने, यस्ता गतिविधिबारे तत्काल प्रहरी प्रशासनलाई जानकारी गराई कानुनी कारबाहीमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। साथै जिल्लाभर सुरक्षा निकायलाई ‘अलर्ट’ अवस्थामा राखिएको र मलङ्गवालगायत संवेदनशील क्षेत्रमा प्रहरी परिचालन तथा निगरानी बढाइएको बताइएको छ।