Skip to main content

सामाजिक फीड–

जनकपुरधाम, साउन १३ गते ।

सर्लाही जिल्ला प्रशासन कार्यालयले जिल्लाभर धार्मिक, सांस्कृतिक, सामाजिक तथा व्यक्तिगत सबै प्रकारका कार्यक्रममा डिजे ९म्व्० बाजा बजाउन पूर्ण प्रतिबन्ध लगाएको छ। प्रशासनले आदेश उल्लंघन गर्ने व्यक्ति तथा आयोजकमाथि कानुनअनुसार कारबाही गरिने चेतावनीसमेत दिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेले मङ्गलबार साँझ जारी गरेको प्रेस विज्ञप्तिअनुसार जिल्लामा ध्वनि प्रदूषण नियन्त्रण, शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले डिजे प्रयोगमा रोक लगाइएको हो।

प्रशासनका अनुसार डिजे बाजाका कारण हुन सक्ने विवाद र सम्भावित साम्प्रदायिक तनावलाई रोक्न यसअघि नै जिल्लाका राजनीतिक दल, धार्मिक संस्था, जनप्रतिनिधि, स्थानीय तहका प्रमुख तथा अध्यक्ष र डिजे व्यवसायीसँग चरणबद्ध छलफल गरिएको थियो। ती छलफलबाट धार्मिक तथा सांस्कृतिक कार्यक्रममा डिजे नबजाउने र आवश्यक परे वैकल्पिक बाजाको प्रयोग गर्ने सहमति समेत भएको प्रशासनले जनाएको छ।
यद्यपि पटक–पटक सूचना र निर्णय जारी गरिए पनि जिल्लाका केही स्थानमा अझै पनि अवैध रूपमा चर्को आवाजमा डिजे बजाइएको गुनासो आएपछि प्रशासनले पुनः कडा चेतावनी दिएको हो।

विज्ञप्तिमा कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक वा व्यक्तिगत कार्यक्रममा डिजे प्रयोग भएको पाइएमा सुरक्षाकर्मीले डिजे, साउन्ड सिस्टम तथा आवश्यक परे सवारी साधनसमेत नियन्त्रणमा लिने र आयोजक तथा सञ्चालक दुवैलाई प्रचलित कानुनअनुसार कारबाही गरिने उल्लेख छ। प्रशासनले डिजे बजिरहेको जानकारी पाए नजिकको प्रहरी कार्यालयमा खबर गर्न पनि नागरिकसँग आग्रह गरेको छ।
सर्लाही प्रशासनले निर्णयको मुख्य आधार ध्वनि प्रदूषण नियन्त्रण र सामाजिक तथा साम्प्रदायिक सद्भाव जोगाउनु रहेको जनाएको छ। पछिल्ला केही समययता मधेसका विभिन्न जिल्लामा धार्मिक जुलुस र सार्वजनिक कार्यक्रममा डिजेको प्रयोगलाई लिएर विवाद बढ्दै गएको छ। विशेषगरी सुनसरीमा धार्मिक कार्यक्रममा डिजे विवादपछि उत्पन्न तनावले अन्य जिल्लाका प्रशासनलाई समेत सतर्क बनाएको देखिन्छ। त्यसैको प्रभावस्वरूप सर्लाही प्रशासनले पनि पूर्वसावधानीस्वरूप पूर्ण प्रतिबन्धको नीति अपनाएको हो।

सर्लाहीमा भने यो पहिलो निर्णय होइन। यसअघि पनि डिजे नियन्त्रणका लागि पटक–पटक निर्देशन जारी गरिए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन। स्थानीयवासीका अनुसार सदरमुकाम मलङ्गवासहित मुख्य बजार क्षेत्रमा प्रशासनको निर्णयपछि पनि बेलाबेलामा चर्को आवाजमा डिजे बजाउने क्रम जारी थियो।
यसपटक प्रशासनले केवल प्रतिबन्ध घोषणा मात्र नगरी उपकरण जफत, आयोजक र सञ्चालकमाथि कानुनी कारबाही, तथा नागरिकलाई प्रहरीमा सूचना दिन आह्वान गरेकाले आदेशको कार्यान्वयन अघिल्ला निर्णयभन्दा कडा हुने अनुमान गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *