सामाजिक फीड–
जनकपुरधाम,असार २ गते ।
सिरहामा अवैध नदीजन्य पदार्थ उत्खनन तथा ढुवानी गरिरहेको १० वटा टिपर र एक स्काभेटर प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार गोलबजार नगरपालिका–३ स्थित गागन खोलाबाट आठ वटा तथा सिरहा नगरपालिका-१३ गमहरिया क्षेत्रमा पर्ने कमला नदीबाट थप दुई वटा टिपर र एक स्काभेटर नियन्त्रणमा लिइएको हो।
अवैध रूपमा ग्राभेल उत्खनन भइरहेको सूचनापछि इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बलको सुरक्षा बेस क्याम्प गोलबजारबाट खटिएको संयुक्त टोलीले विभिन्न नम्बर प्लेट भएका आठ वटा टिपरलाई ग्राभेलसहित नियन्त्रणमा लिएको जनाएको छ।
प्रहरी टोली घटनास्थलमा पुगेपछि चालकहरू सवारी साधन छाडेर फरार भएका थिए। इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक सुधन केसीका अनुसार चालकहरू भागेपछि अन्य व्यक्तिको सहयोगमा ती सवारी साधन कार्यालयसम्म ल्याइएको हो। हालसम्म ती सवारीका चालक वा मालिक सम्पर्कमा नआएको उनले बताए।
यस्तै, कमला नदी क्षेत्रमा भइरहेको अवैध बालुवा उत्खननका क्रममा प्रहरीले दुई वटा टिपर र एक स्काभेटर पनि नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक नरेश लिम्बूका अनुसार उक्त उपकरणहरू अवैध उत्खननमा संलग्न अवस्थामा फेला परेका थिए।
प्रहरीले नियन्त्रणमा लिएका सबै सवारी साधन तथा उपकरण आवश्यक कानुनी प्रक्रिया अघि बढाउन सम्बन्धित स्थानीय तहलाई बुझाइएको जनाएको छ।

फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।