सामाजिक फीड-
जनकपुरधाम, चैत १ गते ।
सर्लाहीमा रात्रिकालिन बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । लालबन्दी नगरपालिका–१ नवलपुरस्थित बागवानीमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
गएराति विराटनगरबाट काठमाडौं जाँदै गरेको लु।प।०३–००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र।२–०३–०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा पर्साको वीरगञ्ज महानगरपालिका–१ छप्कैया घर भई हाल लालबन्दी–१ नवलपुर बस्दै आएका ३५ वर्षीय सुनिल महतोको मृत्युु भएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईका अनुसार गम्भीर घाइते भएका महतोलाई उपचारका लागि प्रादेशिक अस्पताल मलंगवा लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो ।
दुर्घटनापछि बस र बसका चालक दाङको तुल्सीपुर नगरपालिका–९ बस्ने ३४ वर्षीय गणेश बस्नेत प्रहरीको नियन्त्रणमा रहेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।