सामाजिक फीड-
जनकपुरधाम, फागुन २९ गते ।
रौतहटमा वन क्षेत्रभित्र अवैध रूपमा निर्माण गरिएको ६ वटा घरटहरा भत्काइएको छ । जिल्लाको चन्द्रपुर नगरपालिका ६ बेल्डीस्थित वन क्षेत्रमा निर्माण गरिएका अवैध घरटहरा भत्काएको हो।
वन क्षेत्रमा निर्माण गरिएको ६ वटा अवैध घर तथा छाप्रा भत्काएर बिहीबार अपराह्न अतिक्रमण हटाएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख हेमन्त प्रसाद साहले बताए ।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर, सशस्त्र प्रहरी बल बेस क्याम्प सन्तपुर, चन्द्रपुर सब–डिभिजन वन कार्यालय तथा रङपुर साझेदारी वन उपभोक्ता समूहको संयुक्त टोलीले अवैध घरटहरा हटाएको हो ।
गत २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको क्रममा वन कर्मचारीहरू निर्वाचन कार्यमा खटिएका बेला केही स्थानीयले वन क्षेत्रमा रातारात घर तथा छाप्रा निर्माण गरी अतिक्रमण गरिएको थियो ।
डिभिजन प्रमुख साहका अनुसार उक्त वन क्षेत्र खाली गराउन अवैध संरचना हटाइएको हो ।
कुनै पनि बहानामा वन अतिक्रमणलाई छुट नदिइने प्रमुख साहले स्पष्ट पारेका छन् । उनले वन क्षेत्रको संरक्षणका लागि अवैध रूपमा घर निर्माण नगर्न तथा वन अतिक्रमण नगर्न सर्वसाधारणलाई आग्रह गरे ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।