Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन २९ गते ।

महोत्तरीको नेपाल–भारत भिट्टामोड नाकाबाट एक नेपाली युवतीलाई बेचबिखनको उद्देश्यले भारत लैजान खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चार भारतीयसहित सातजना छन् ।

युवतीसँग विवाहको नाटक गरी ललाई–फकाई प्रलोभनमा पारेर मानव बेचबिखनका लागि भारत लैजान खोज्दा प्रहरीले चारजना भारतीयसँग सोधपुछ गरेपछि सो घटना खुलेको थियो । प्रहरीले भारत गुजरात राज्यका ३६ वर्षीय, ५६ वर्षीय र दुई जना २८ वर्षीय पुरुषलाई नियन्त्रणमा लिएको हो ।

प्रारम्भिक अनुसन्धानका क्रममा धनुषाको मिथिला बिहारी नगरपालिका–३ बस्ने ५० वर्षीया महिलाले पीडितको नक्कली आमाको भूमिका निर्वाह गरेको र महोत्तरीको भंगहा नगरपालिका–६ बस्ने १८ वर्षीया महिलाले पीडितको बहिनीको भूमिका खेलेको खुलेको छ ।

यसैगरी भंगहा नगरपालिका–८ बस्ने ५१ वर्षीय एक पुरुषले भारतीय व्यक्तिहरूसँग सम्पर्क गरी उनीहरूलाई नेपाल बोलाउने, होटलको व्यवस्थापन गर्ने तथा विवाह गराउने तयारी मिलाउने मुख्य नाइकेका रूपमा काम गरेको पनि अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न नक्कली आमा र बहिनीको भूमिका निर्वाह गर्ने दुवै महिला र मुख्य नाइकेको भूमिका निर्वाह गर्ने ५१ वर्षीय पुरुषलाई प्रहरलिे पक्राउ गरेको छ ।

पक्राउ परेका सबै प्रतिवादीहरूलाई महोत्तरी जिल्ला अदालतबाट म्याद थप गरी मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *