सामाजिक फीड-
जनकपुरधाम, फागुन २६ गते ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ । ब्रेन्ट करिब ८.५ प्रतिशतले घटेर प्रति ब्यारल ९२.५० अमेरिकी डलर पुगेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकामा कारोबार हुने तेलसमेत करिब ९ प्रतिशतले घटेर प्रति ब्यारल ८८.६० अमेरिकी डलर पुगेको हो ।
बीबीसीका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्ध चाँडै समाप्त हुने बताएपछि तेलको अन्तर्राष्ट्रिय मूल्यमा गिरावट देखापरेको छ ।
राष्ट्रपति ट्रम्पले मध्यपूर्वको तनावबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग कुराकानी गरेर युद्ध चाँडै समाप्त हुने बताएका थिए । तर एक सातामै युद्ध समाप्त नहुने भनाइ सार्वजनिक भएको थियो ।
अमेरिकी राष्ट्रपति ट्रम्पले इरानले होर्मुज स्ट्रेटमा तेल ढुवानीमा अवरोध गरे कडा कारबाही गरिने चेनावनी समेत दिएका छन् । उनले ट्रुथ सोशलमार्फत् यस्तो चेनावनी दिएका हुन् ।
उनले इरान स्ट्रेट अफ होर्मुजमा तेल ढुवानीमा अवरोध सिर्जना गरे अमेरिकाले उसमाथि अहिलेसम्म गरेको आक्रमणको २० गुणा बढी शक्तिशाली हमला गर्ने लेखेका छन् ।
विश्वभर कुलमध्ये झण्डै २० प्रतिशत तेल यही समुद्री बाटो हुँदै ढुवानी हुने गरेको बीबीसीले जनाएको छ ।
इजरायल–इरान युद्धका कारण समुद्री बाटोको आवागमन धेरै कम हुँदा विश्वभर तेलको मूल्यमा तीब्र बढोत्तरी देखिएको छ ।
फाएजा फहमीदा सामाजिक फीडकी संवाददाता हून् ।