सामाजिक फीड-
जनकपुरधाम, फागुन १५ गते ।
धनुषामा प्रेमिकासँग भेट्न गएका एक युवकको विभत्स हत्या भएको छ । औरही गाउँपालिका–६ स्थित खेतमा हंसपुर नगरपालिका–९ रुदौली निवासी गंगाराम मण्डलका १९ वर्षीय छोरा सुमित मण्डलको घाँटी रेटिएको अवस्थामा बिहीबार अपराह्न करिब ४ बजे शव फेला परेको प्रहरीले जनाएको छ । दुबै हात पछाडि बाँधिएको अवस्थामा रहेको शवले घटना निर्मम भएको देखिएको छ ।
धनुषा प्रहरीले घटनामा संलग्न प्रेमिका किशोरीसहित तीन जनालाई सार्वजनिक गरेको छ । प्रहरीका अनुसार सुमित र हंसपुर नगरपालिका–६ की १७ वर्षीया किशोरी काजल कुमारी मण्डलबीच करिब एक वर्षदेखि प्रेम सम्बन्ध थियो । हत्या अभियोगमा प्रेमिका काजलसहित उनका दाजु २० वर्षीय दिपेश कुमार मण्डल र काका २९ वर्षीय परमेश्वर मण्डल पक्राउ परेका छन् ।
प्रारम्भिक अनुसन्धान अनुसार, काजलका अभिभावक विवाह समारोहमा गएको मौका छोपी सुमित मोटरसाइकल लिएर प्रेमिकालाई भेट्न पुगेका थिए ।
घरभित्र प्रवेश गरेपछि उनलाई नियन्त्रणमा लिएर कुटपिट गरिएको र करिब डेढ किलोमिटर टाढा खेतमा लगेर धारिलो हतियार प्रयोग गरी घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ । हत्या प्रयोजनमा प्रयोग गरिएको खुकुरी, मोटरसाइकललगायत सामग्री बरामद गरिएको र घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।