सामाजिक फीड-
जनकपुरधाम, फागुन ११ गते ।
पोखराबाट काठमाडौं जाँदै गरेको यात्रु बस सोमबार बिहान त्रिशूली नदीमा खस्दा ६ महिलासहित १७ जनाको मृत्यु भएको छ । २७ जना घाइते भएका छन् । उनीहरुको विभिन्न अस्पतालहरुमा उपचार भइरहेको छ ।
पृथ्वी राजमार्ग अन्तर्गत पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको ग २ ख १४२१ नम्बर बस राति करिब १ बजेतिर धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसेगौडा भन्ने स्थानबाट त्रिशूली नदी किनारमा खसेको थियो । सडकबाट करिब ३ सय मिटर तल खसेर बस क्षतविक्षत अवस्थामा फेला परेको थियो ।
घटनास्थलबाट डुंगाको सहायताबाट यात्रुहरुलाई करिब एक किलोमिटर तलसम्म पु¥याएर, त्यहाँबाट सडकमा उकालेर, एम्बुलेन्समा राख्दै अस्पताल पठाइएको थियो ।
धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीका अनुसार मृतक र घाइतेहरुको परिचय खुल्न बाँकी छ । दुर्घटनामा विदेशी पर्यटकहरु पनि परेका छन् । एक जना न्यूजील्याण्डका नागरिक छन् ।
उनका अनुसार घटनास्थलबाट ८ महिला, १८ पुरुष र एक बालिका गरी २७ जनालाई उद्धार गरी विभिन्न अस्पताल पठाइएको छ ।