Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, फागुन ३ गते ।

आज देशभर महाशिवरात्रि पर्व श्रद्धा, भक्ति र उत्साहका साथ मनाइँदैछ । बिहानैदेखि शिवालयहरूमा भगवान शिवको पूजापाठ, व्रत र दर्शनमा भक्तजन व्यस्त देखिएका छन् ।

वैदिक सनातन हिन्दू धर्मावलम्बीहरूले नदी, कुण्ड र तलाउमा स्नान गरी शिवमन्दिरमा पुगेर पूजा–अर्चना गर्ने परम्परा छ । जनकपुरको कपिलेश्वरनाथ महादेव, धनुषाको क्षिरेश्वरनाथ महादेव, महोत्तरीको जलेश्वरनाथ महादेव र टुटेश्वरनाथ महादेव लगायतका मन्दिरहरूमा भक्तजनहरूको विशेष भीड देखिएको छ ।

शिवपुराणलगायतका धर्मग्रन्थहरूमा उल्लेख भएअनुसार, महाशिवरात्रि भगवान शिवको उत्पत्तिसँग सम्बन्धित चार पवित्र रात्रिमध्ये एक मानिन्छ । धर्मको उदय गराउने आशुतोष भगवान शिवको अत्यन्त प्रिय दिनका रूपमा यस पर्वलाई लिइन्छ ।

यस अवसरमा भक्तजनहरूले व्रत बस्ने, शिवलिङ्गमा दूध, धतुरो र बेलपत्र अर्पण गर्ने धार्मिक परम्परा पालना गर्छन् । रातभर जाग्राम बसेर भजन–कीर्तन गर्दा सर्वसिद्धि प्राप्त हुने र यमलोक जानु नपर्ने धार्मिक विश्वास पनि रहेको छ ।

शिवरात्रिको अवसरमा भगवान शिवलाई जाडो नहोस् भन्ने जनविश्वासअनुसार गाउँ–सहरका चोक, मठ–मन्दिरमा धुनी बालिन्छ । भक्तजनहरू भजन–कीर्तन गर्दै त्यही आगोमा प्रसाद तयार पारेर ग्रहण गर्ने परम्परा पनि व्यापक रूपमा देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *