Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, माघ १४ गते ।

सिरहाको लहानस्थित रामकुमार शारडा उमाप्रसाद मुरारका प्रादेशिक अस्पतालमा शव साटिएको घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको छ । इलाका प्रशासन कार्यालय लहानका प्रमुख वेदनिधि खनालको संयोजकत्वमा समिति गठन गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार शव साटिएपछि उत्पन्न विवाद र स्थानीयको आन्दोलनबाट सिर्जित तनावलाई मध्यनजर गर्दै अनुसन्धान अघि बढाइएको हो । समितिमा मृतकका काका, अस्पतालका विशेषज्ञ चिकित्सक, सम्बन्धित वडाका अध्यक्ष तथा प्रहरी निरीक्षक सदस्य छन् ।

घटनाको निष्पक्ष र प्रभावकारी छानबिनका लागि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जित झालाई अस्थायी रूपमा बिदामा बस्न र शवगृहका कर्मचारीलाई जिम्मेवारीबाट हटाउन निर्देशन दिइसकेको पौडेलले बताए ।

गत शनिबार आत्महत्या गरेको भनिएकी गोलबजार नगरपालिका–३ की १६ वर्षीया निशा बानियाँको शव परीक्षणका लागि अस्पतालमा राखिएको थियो । सोही समयमा सप्तरीकी समान उमेरकी किशोरी राधिकाकुमारी साहको शव पनि परीक्षणका लागि अस्पतालमा थियो । अस्पतालको लापरबाहीका कारण निशाको शव राधिकाको परिवारलाई बुझाइयो र उनीहरूले आइतबार अन्त्येष्टि गरिसके । सोमबार निशाका बुबा पूर्णबहादुर बानियाँ शव लिन अस्पताल पुग्दा मात्र शव साटिएको तथ्य खुलासा भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *