सामाजिक फीड-
जनकपुरधाम, पुस २२ गते ।
दुई समुदाय बीचको तनाव बढेपछि बीरगञ्जमा लगाइएको कफ्र्यु आदेश आज दिउँसो १ बजेसम्मको लागि थप गरिएको छ । सोमबार साँझ ६ बजेदेखि आज बिहान ८ बजेसम्मका लागि स्थानीय प्रशासनले कफ्र्यु आदेश जारी गरेको थियो ।
पछिल्लो सुरक्षा वस्तुस्थितिलाई मध्यनजर गरी जिल्ला प्रशासन कार्यालय पर्साले आज दिउँसो १ बजेसम्मको लागि पुनः कफ्र्यु थप गरेको हो ।
. पूर्वमा बसपार्क, नगवा, ईनर्वासम्म, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेटसम्म कफ्र्यु लगाइएको हो ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कफ्र्यु लगाइएको क्षेत्र भित्र आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने आदेश छ ।
कफ्र्यूको बेलामा सुरक्षाकर्मीले देख्ने वित्तिकै गोली हान्न सक्ने भएकोले अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नं मा फोन गरी बाहिर निस्कन हुन अनुरोध गरेको छ ।
कफ्र्यू आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु, मानवअधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण गर्न अनुरोध गरेको छ ।
