सामाजिक फीड-
जनकपुरधाम, पुस १६ गते ।
ग्यास बुलेट पल्टिएर रौतहटमा अवरुद्ध पूर्वपश्चिम राजमार्ग झण्डै २४ घण्टापछि खुलेको छ । रौतहटको चन्द्रनिगाहपुर–निजगढ सडकखण्डमा रौक्सलौलबाट धनुषाको महेन्द्रनगर आउँदै गरेको ग्यास बुलेट मंगलबार बिहानकरिब ७ः५० बजे पल्टेको थियो ।
यसको कारण मुख्य राजमार्ग बन्द नै भएको थियो । विकल्पको रुपमा सवारी साधनहरु लामो र घुमाउरो ग्रामिण सडक प्रयोग गर्न बाध्य भएका थिए ।
क्रेनको सहायताले ग्याँस बुलेटलाई किनारा लगाएपछि बुधबार बिहान साढे ७ बजेदेखि राजमार्ग दुईतर्फी खुलेको जिल्ला ट्राफिक कार्यालयका निरीक्षक राजेन्द्र थापामगरले जानकारी दिए ।
दुर्घटनापछि ग्याँस चुहिएकाले आगलागीको जोखिम भएको भन्दै दमकलले पानी हाल्दै दुईवटा क्रेनले बुलेट उठाइएको थियो । कालोपत्रे राजमार्ग पनि पानीको फोहोरा हानेर सफा गरिएको छ । ग्यास बुलेट भने सडकको किनारमा राखिएको छ ।