सामाजिक फीड-
जनकपुरधाम, पुस २ गते ।
मधेश प्रदेश सरकारको मुख्यमन्त्री तथा मन्त्रिपरिद् कार्यालयको छड्के निरीक्षण सुरु गरेको छ ।
छड्केमा दुईदिनमा जनकपुरधाम स्थित मातहतका मन्त्रालय तथा कार्यालयका ७२ जना कर्मचारी कारबाहीमा परेका छन् ।
पुस १ र २ गते जनकपुरधामस्थित प्रदेश सरकारका १८ वटा कार्यालयमा कर्मचारीको उपस्थिति तथा तोकिएको पोषाकको छड्के निरीक्षण गरेको छ।
निरीक्षणका क्रममा पुस १ गते ४८ जना र पुस २ गते २४ जना गरी जम्मा ७२ जना कर्मचारी कारबाहीमा परेका छन् ।
कारबाहीमा परेका कर्मचारीहरू विभिन्न मन्त्रालय तथा कार्यालयमा कार्यरत रहेका छन् । खेलकुद तथा समाज कल्याण मन्त्रालयमा ९ जना, उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमा ८ जना, पूर्वाधार विकास कार्यालयमा ८ जना र जलस्रोत तथा सिँचाइ विकास डिभिजनमा ८ जना कारबाहीमा परेका छन् । यसैगरी अन्य मन्त्रालय तथा कार्यालयहरूबाट समेत कर्मचारीहरू कारबाहीमा परेका छन्।
कारबाहीमा परेकामध्ये ५५ जना पुरुष र १७ जना महिला कर्मचारी रहेका छन्।
पदगत रूपमा उपसचिव सरह २ जना, शाखा अधिकृत सरह ४१ जना, नायब सुब्बा सरह १६ जना, खरिदार सरह ४ जना, सवारी चालक ३ जना र कार्यालय सहयोगी ६ जना रहेका छन्।
पूर्वस्वीकृति बेगर अनुपस्थित ३४ जना र तोकिएको पोषाक नलगाएका ३८ जना भेटिएका छन् ।
नियम उल्लङ्घन गर्ने कर्मचारीलाई प्रचलित कानुनअनुसार कारबाहीका लागि सम्बन्धित निकायमा विवरणसहित पत्राचार गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिद् कार्यालयले जनाएको छ ।
निरीक्षणलाई निरन्तरता दिँदै बाँकी सात जिल्लामा पनि छड्के अनुगमन गरिने जनाएको छ ।