Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, मंसिर ४ गते ।

सीताराम विवाहपञ्चमी महोत्सव जनकपुरधाममा आजदेखि विधिवत् सुरु भएको छ । त्रेता युगमा भगवान् राम र जनकनन्दिनी सीताबीच भएको दिव्य विवाहको स्मरणमा प्रत्येक वर्ष भव्य रुपमा सप्ताहव्यापी सीताराम महोत्सव मनाउने गरिन्छ ।

आज पहिलो दिन नगरदर्शन कार्यक्रम हुँदैछ । शुक्रबार फूलबारी लीला, शनिबार धनुष्यज्ञ, आइतबार तिलकोत्सव, सोमबार मंसिर ८ गते मटकोर, मंगलबार ९ गते राम–सीता स्वयंवर तथा विवाह समारोह आयोजना हुने कार्यक्रम निर्धारण गरिएको छ ।
मंसिर १० गते रामकलेवा तथा अयोध्याबाट आएका प्रतीकात्मक जन्तीका रूपमा साधुसन्तहरूको बिदाइसँगै महोत्सव सम्पन्न हुनेछ ।

नगरदर्शनअन्तर्गत भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिर परिसर वरिपरि परिक्रमा गराइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले जानकारी दिए ।

त्रेता युगको पौराणिक घटनालाई सम्मानपूर्वक स्मरण गर्ने यो महोत्सवमा हिन्दूसँगै बौद्ध, शिख, इसाईलगायत अन्य धर्मावलम्बीको पनि सहभागिता रहँदै आएको छ। कार्यक्रम निर्विघ्न सम्पन्न गर्न जानकी मन्दिर क्षेत्रमा सर्वपक्षीय बैठक बसेको छ ।
महोत्सवलाई भव्य र व्यवस्थित बनाउन सबै पक्षको सहयोग आवश्यक रहेको मन्दिरका महन्थ रामतपेश्वरदास वैष्णवले बताए ।

हरेक वर्षझैँ यस वर्ष पनि अयोध्याबाट प्रतीकात्मक जन्ती आउने कार्यक्रम रहेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *