सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १२ गते ।
इजरायलले मंगलबार राति गाजा क्षेत्रमा भीषण हवाई आक्रमण गरेको छ। आक्रमण गाजा शहरसँगै बेत ला र खान युनिस लगायतका केही अन्य शहरमा घर, विद्यालय र बसोबासका भवनहरूमा केन्द्रित भएको थियो।
हमासका स्वास्थ्य अधिकारी र ‘सिभिल डिफेन्स एजेन्सी’का अनुसार यस आक्रमणमा ३३ प्यालेस्टाइनी नागरिकको मृत्यु भएको छ।
इजरायली अधिकारीहरूले हमासमाथि अमेरिकाको पहलमा गरिएको युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्। इजरायली रक्षामन्त्री इजराइल केट्जका अनुसार, हमासले इजरायली सैनिकमाथि आक्रमण गरेको र बन्धकको शव फिर्ता गर्ने तय शर्तहरू उल्लंघन गरेको बताइएको छ।
तर हमासले आफ्नो तर्फबाट भएको भनिएको आक्रमणमा कुनै संलग्नता नरहेको दाबी गर्दै युद्धविरामका लागि पूर्ण प्रतिबद्धता रहेको जनाएको छ।
यसअघि, मंगलबार बेलुकी इजरायली प्रधानमन्त्री बेन्ज्यामिन नेतन्याहुको कार्यालयबाट जारी संक्षिप्त बयानमा सेनालाई भीषण आक्रमणका लागि निर्देशन दिएको उल्लेख थियो, तर निर्देशनको कारण खुलाइएको थिएन।