Samajik Feed – News Portal from Nepal

समाजिक फीड

जनकपुरधाम, असोज २३ गते ।

भारतको मध्य प्रदेशमा दूषित कफ सिरप सेवनबाट कम्तीमा २० जना बालबालिकाको मृत्यु भएपछि सम्बन्धित औषधि कम्पनी स्रेसन फार्मास्युटिकल्स का मालिक एस रंगनाथनलाई प्रहरीले पक्राउ गरेको छ।

मध्य प्रदेशको छिन्दवाडाबाट गएको विशेष अनुसन्धान टोली (SIT) ले चेन्नई पुगेर रंगनाथनलाई पक्राउ गरेको छ। छिन्दवाडाका प्रहरी अधिकारी अजय पाण्डेले उक्त पक्राउ पुष्टि गरेका छन्।

अनुसन्धान अनुसार, कोल्ड्रिफ नामक खोकीको सिरप सेवनपछि धेरै बालबालिकाहरूको मिर्गौला फेल भएको थियो, जसको कारण मृत्यु भएको हो। यो सिरप तमिलनाडुको कांचीपुरममा रहेको स्रेसन फार्माले उत्पादन गरेको थियो, जुन छिन्दवाडा र वरपरका क्षेत्रमा बिक्रीमा रहेको थियो।

विषाक्त रसायनको मात्रा अत्यधिक

तमिलनाडु औषधि नियन्त्रण विभागले सिरपको एक ब्याचमा ४८।६५ डाइथिलिन ग्लाइकोल भएको रिपोर्ट दिएको छ। यो अत्यन्तै विषालु रसायन हो जसले गाम्बिया, उज्बेकिस्तान र भारतमा समेत पहिले बालबालिकाको ज्यान लिएको इतिहास छ।

घटनापछि ५ अक्टोबरमा १२ सदस्यीय विशेष अनुसन्धान टोली गठन गरिएको थियो। त्यसैगरी, ४ अक्टोबरमा मध्य प्रदेश औषधि नियन्त्रण विभागले उक्त कफ सिरपमा पूर्ण प्रतिबन्ध लगाएको हो।

एफआईआर दर्ता, अन्य आरोपीहरू पनि अनुसन्धानमा

यस घटनामा चिकित्सक प्रवीण सोनी, कम्पनीका अन्य सञ्चालक र कर्मचारीहरूमाथि पनि एफआईआर दर्ता गरिएको छ। प्रारम्भिक अनुसन्धानका अनुसार, सिरप खाएपछि बच्चाहरूमा अचानक मिर्गौला फेल हुने लक्षण देखिन थालेका थिए।

सेप्टेम्बर ७ देखि परासियामा बालबालिकाको एकपछि अर्को मृत्यु हुन थालेपछि २३ सेप्टेम्बरमा अनुसन्धान सुरु गरिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *