सामाजिक फीड-
जनकपुरधाम, असोज ६ गते ।
नेपालीहरूको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ । पहिलो दिन घटस्थापनाका साथ नवरात्र प्रारम्भ भएको छ ।
प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म धूमधाम र श्रद्धाका साथ दशैं मनाइन्छ । आजको दिन घर–घरमा वैदिक विधिअनुसार दियो, कलश र गणेश स्थापना गरेर घटस्थापना गरिन्छ ।
पूजा कोठा वा दशैं घरलाई गाईको गोबरले लिपपोत गरी पवित्र नदी वा चोखो स्थानबाट ल्याइएको बालुवा÷माटोमा जौ छरेर जमरा राखिन्छ। दुर्गा देवीलाई अति प्रिय मानिने यो जौको अंकुर विजया दशमीका दिन दुर्गालाई अर्पण गरी टीका र प्रसादसहित पहेँलो जमरा ग्रहण गरिन्छ, जसलाई समृद्धिको प्रतीक मानिन्छ ।
घडामा स्थापित कलशलाई दुर्गा शक्तिको प्रतीक मानेर पूजा आराधना गर्ने भएकैले यस दिनलाई घटस्थापना भनिन्छ। यही कलशमा राखिएको जल विजया दशमीमा देवीको प्रसादका रूपमा ग्रहण गरिन्छ ।
यद्यपि कतिपयले जौसँगै गहुँ वा मकैको जमरा पनि राख्ने चलन छ, तर नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष रामचन्द्र गौतमका अनुसार शास्त्रीय विधिअनुसार जौ बाहेक अरु अन्न रोप्ने परम्परा छैन ।
घटस्थापनादेखि दशमीसम्मको अवधिलाई नवरात्र भनिन्छ । यस अवधिमा देवी दुर्गाका नौ रूपहरूको पूजा गरिन्छ— पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री ।
दशैंको सातौं दिन फूलपाती भित्र्याइन्छ भने महाअष्टमी र महानवमीका दिन बलिपूजा गर्ने परम्परा छ। यस अवसरमा दशैं घर, कोत र शक्तिपीठहरूमा विशेष पूजा–आराधना गरिन्छ ।
नवरात्रभर दुर्गा सप्तशती चण्डी, श्रीमद्देवीभागवत लगायतका ग्रन्थहरूको पाठ, देवी स्तोत्र र स्तुतिहरू उच्चारण गरिन्छ । देशभरका नक्साल भगवती, शोभा भगवती, नाला भगवती, पलाञ्चोक भगवती, भद्रकाली, मैतीदेवी लगायतका शक्तिपीठहरूमा भक्तजनको भीड लाग्छ ।
दशैंलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा मनाइन्छ । यस वर्ष दशैंको टीका असोज १६ गते परेको छ ।