Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असोज २ गते ।

जनकपुरधाम विमानस्थलमा पार्किङ शुल्क उठाउने नाममा ठेकेदारले यात्रु तथा सर्वसाधारणसँग बारम्बार दुव्र्यवहार गर्ने गरेको खुलासा भएको छ ।

विमानस्थलको पार्किङ तथा क्यान्टिनको ठेक्का पाएका लक्ष्मी कन्स्ट्रक्सनका साहु जयनाथ साहले लामो समयदेखि यात्रु र पर्यटकसँग रुखो व्यवहार गर्दै आएको जनगुनासो बढ्दो छ । हालै उनको यात्रुसँग दुव्र्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि फेरि विवाद चर्किएको छ । भिडियोमा विमानस्थलबाट मोटरसाइकलमा निस्कन लागेका दुई जनालाई रोक्दै उनले पार्किङ शुल्क तिर्न दबाब दिएका छन् । चालकले ‘पार्किङ नै गरेको छैन, शुल्क किन तिर्ने ?’ भनेपछि साहले गुण्डागर्दी शैलीमा उनीहरूको सामान बाटोमै खसालिदिएको दृश्य देख्न सकिन्छ ।

यो घटना पहिलो होइन, बेलाबेला यात्रु र पर्यटकलाई अपमानजनक व्यवहार गर्ने उनको प्रवृत्ति छ । कयौंपटक यस्तो घटनाको कारण प्रहरी प्रशासनमा उजुरी पर्ने गरेको भए पनि समस्या समाधान भएको छैन । पछिल्लो घटनापछि साहमाथि कारबाही गर्नुपर्ने आवाज झन् चर्किएको छ । धेरैले उनको ठेक्का खारेज गरी विमानस्थल परिसरबाट हटाउन माग गरेका छन् ।

जनकपुर विमानस्थलका प्रमुख तेजबहादुर बुढथापाले पनि यात्रुसँग गरिएको दुव्र्यवहार गम्भीर विषय भएको उल्लेख गर्दै भने, ‘अब उनलाई कारबाही गर्ने वा ठेक्का तोड्ने दबाब बढेको छ । उनले व्यवहार सुधार गर्नुपर्छ, नभए ठेक्का रद्द हुन्छ ।’

करिब डेढ दशकदेखि निरन्तर विमानस्थलको क्यान्टिन र पार्किङको ठेक्का सहले पाउँदै आएका छन् । अन्य ठेकेदारले प्रस्ताव नदिँदा उनलाई नै बारम्बार ठेक्का दिनुपरेको विमानस्थल प्रमुख बुढथापाको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *