Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ २१ गते ।

उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) जनकपुरले विद्यार्थीहरूबीच बढ्दै गएको असामाजिक गतिविधि नियन्त्रणका लागि उद्योग वाणिज्य संघ र होटल व्यवसायीलाई ज्ञापनपत्र बुझाएको छ ।

जनकपुरधाम उपमहानगरपालिका भित्रका विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थीहरू विद्यालयको ड्रेसमै पसलमा गएर चुरोट, खैनी, गुट्खा जस्ता स्वास्थ्यलाई हानी पु¥याउने सामग्री सेवन गर्ने, जन्मदिन मनाउने नाममा होटलमा गएर फजुल खर्च गर्ने, अभद्र व्यवहार गर्ने, अश्लील टिकटक वा भिडियो बनाउने, र कोठा भाडामा लिएर अश्लील गतिविधि गर्ने जस्ता गतिविधि तीव्र हुँदै गएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

यस्ता विकृतिले विद्यालय, क्याम्पस र अभिभावकको प्रतिष्ठामाथि नकारात्मक असर पारिरहेको भन्दै हिसानले २०८२ साउन १६ गते बसेको बैठकले यसलाई रोकथामका लागि सबै शैक्षिक संस्थाले पहल गर्ने निर्णय गरेको र त्यसै अनुसार ज्ञापनपत्र बुझाइएको हिसान जनकपुरका अध्यक्ष संजिवकुमार ठाकुरले बताए ।

विद्यार्थीबाट हुने यस्ता गतिविधि नियन्त्रणमा उद्योग वाणिज्य संघ र होटल व्यवसायीको सहकार्य अपरिहार्य हुने भएकाले आवश्यक सहयोग गर्न आग्रह गरिएको छ । साथै, विद्यार्थी ड्रेसमै पसलमा आउने अवस्थालाई विचार गरी, उनीहरूलाई प्रतिवन्धित सामग्री नबेच्न सम्बन्धित पसल तथा व्यवसायीलाई कडाइका साथ निर्देशन दिन उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई ज्ञापनपत्रमार्फत अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *