Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ १५ गते


रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुरका २८ वर्षीय नसिव बैठाको मोबाइल चोरीको आरोपमा कुटपिट गर्दा मृत्यु भएको छ । उपचारको क्रममा भदौ ११ गते वीरगञ्जस्थित स्पोर्ट्स हस्पिटलमा उनको मृत्यु भएको हो ।

मृतकका भाई दर्शन बैठाका अनुसार घटना साउन १६ र १७ गते मोबाइल चोरीको झुटो आरोप लगाएर कुटपिट भएको थियो । साउन १६ गते कटहरिया बजारको खाजा पसलमा बस्दा स्थानीय ३२ वर्षीय गर्भुदयाल सर्भंगले आफ्नो मोबाइल हराएको भन्दै नसिवलाई कुटपिट गरेका थिए । तर पछि मोबाइल सर्भंगकै घरमा भेटियो ।

त्यसको भोलिपल्ट साउन १७ गते दिउँसो गाउँकै संजय यादव र उनका भाई विजय यादवले पनि मोबाइल चोरी गरेको आशंकामा नसिवलाई आँपको बगैँचामा लगेर निर्घात कुटपिट गरेका थिए।

रुखमा उल्टो झुण्ड्याएर बेल्ट, साइकलको चेन र मुक्काले कुटपिट गर्दै मोबाइल चोरी गरेको स्वीकार गर्न बाध्य पारेको दर्शनको भनाइ छ । कुटपिटमा संजय र विजयका बुबा शिवनाथ यादव पनि संलग्न रहेको आरोप छ ।

कुटपिट भइरहेको देखेर एक स्थानीयले कटहरिया प्रहरी चौकीमा खबर गरेपछि प्रहरी पुगेर नसिवलाई उद्धार गरी चौकीमा लगिएको थियो । तर छलफलपछि चोरी पुष्टि नभएकाले त्यही दिन उनलाई प्रहरीले छोडेको थियो ।

इलाका प्रहरी कार्यालय गरुडाका डिएसपी राजन कार्कीका अनुसार मोबाइल चोरीको निवेदन दर्ता भए पनि प्रमाण नभएपछि उनलाई घर पठाइएको थियो ।

कुटपिटको असरले नसिवलाई भोलिपल्टदेखि पेट र छातीमा दुख्न थालेको थियो । त्यसकै बीच उनका बुबा बाबुलाल बैठाको निधन भयो । बुबाको क्रियाकाण्ड सकेर उपचारका लागि नसिवलाई कटहरियाको जीवन ज्योति अस्पताल लगियो, त्यसपछि गौर र अन्ततः वीरगञ्ज रिफर गरियो ।

नारायणी अस्पतालमा आइसियु बेड नभएपछि स्पोर्ट्स हस्पिटलमा भर्ना गरिएका नसिवको ११ गते बिहान ३ बजे मृत्यु भएको भाइ दर्शनले बताए ।

मृतकका सात वर्षीय जेठा छोरा विशाल क्रियामा बसेका छन् । नसिवको उपचारमा ऋण र सापटी गरेर करिब साढे ३ लाख खर्च भएको परिवारले जनाएको छ । आर्थिक अवस्था कमजोर भएकाले चार ससाना छोराको लालनपालन चुनौती बनेको मृतककी श्रीमती गीताले बताइन् ।


घटनापछि पीडित परिवारले चार जनाविरुद्ध इलाका प्रहरी कार्यालय गरुडामा जाहेरी दर्ता गरेको छ । प्रहरीले कुटपिटमा संलग्न गर्भुदयाललाई पक्राउ गरी कर्तव्यज्यान मुद्दा दर्ता गरेको र अन्य तीनजनाको खोजी भइरहेको डिएसपी कार्कीले जानकारी दिए ।

दलित र गरीब भएकै कारण आफ्नो  श्रीमानमाथि झुटो आरोप लगाइ कुटपिट गरि हत्या भएको भन्दै श्रीमती गीताले दोषीलाई कडा कारबाही र परिवारलाई क्षतिपूर्ति माग गरिन् । उनलाई छोराको लालनपालन कसरी गर्ने भन्ने चिन्ताले पिरोलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *