सामाजिक फीड-
जनकपुरधाम, भदौ १४ गते ।
जनकपुरधाम उपमहानगरपालिका २० देवरारुपैठामा हिन्दु र मुस्लिम समुदायबीचको झडपमा दुईजना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ११ सेल अश्रु ग्यास प्रहार गरेको छ ।
झडपमा एकजना प्रहरी र एकजना सर्वसाधारण सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका अनुसार स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरीले ९ र सशस्त्र प्रहरीले दुई सेल अश्रुग्यास प्रहार गरेका छन् ।
हिन्दू समुदायले गणेश पूजाको मूर्ति विसर्जन गर्न लैजाने बेला झन्डा चोकमा मुस्लिम सुमुदायसँग झडप भएको थियो । प्रहरीका अनुसार झन्डाचोकमा गाडिएको टावरलाइट पोलमा बाँधिएको दुईवटा हरियो झण्डा हटाउने विषयमा विवाद भएको थियो ।
त्यसले दुई समुदायबीच झडपको रुप लिएको थियो । मूर्ति विसर्जन गरिए पनि झन्डाचोकमा अहिले पनि अवस्था तनावग्रस्त छ । बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ।