सामाजिक फीड-
जनकपुरधाम, भदौ १३ गते ।
धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, गोदार चोकस्थित राजकुमार मोबाइल पसलको सटरको ताला फोडी चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ढल्केबरले उनीहरूको साथबाट चोरी भएका मोबाइलसहितका विभिन्न सामान बरामद गरेको जनाएको छ।
पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–७ का २० वर्षीय अर्जुन मुखिया, १९ वर्षीय सिकेन्द्र पासवान र वडा नम्बर ५ का २२ वर्षीय कृष्ण मण्डल रहेक इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए ।
उनका अनुसार, पक्राउ परेकाको साथसाथै उनीहरूको घर र लुकाइएका स्थानबाट विभिन्न कम्पनीका १२ थान मोबाइल, घडी, क्यामेरा स्टेन्ड, मोबाइल चार्जर, टेम्पर ग्लास, लेन्सलगायतका सामग्री बरामद गरिएको छ।
गत भदौ ५ गते राति धनुषाधाम नगरपालिका–८, केसरकट्टी निवासी ५१ वर्षीय राजकुमार साहले सञ्चालन गरेको मोबाइल पसलको सटर फोडी करिब १० लाख रुपैयाँ बराबरको सामग्री चोरी भएको थियो। चोरीमा ४५ थान मोबाइल सेट, २ थान ड्रोन क्यामेरा, ५ डब्बा टेम्पर ग्लास, ५ थान देवाल घडी, १५५ थान हाते घडी, ६ थान टर्च र नगद ९८ हजार ७६५ रुपैयाँ चोरी भएको प्रहरीले जनाएको छ।
भदौ ११ गते पक्राउ गरिएका ती तीन जनामाथि चोरी तथा डाँका सम्बन्धी कसूरमा मुद्दा दर्ता गरी म्याद थप गर्दै थप अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले जानकारी दिए ।