Samajik Feed – News Portal from Nepal

जनकपुरधाम, भदौ १२ गते ।

नेपाल भएर जैश–ए–मोहम्मद समूहका तीन जना आतंकवादी भारतको बिहारमा प्रवेश गरेको भन्दै उक्त क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतीय मिडियाका अनुसार आतंकवादी घुसेको भन्दै भारतको प्रहरी मुख्यालयले सुरक्षाकर्मीलाई हाई अलर्टमा राखेको छ भने गुप्तचर निकायलाई समेत परिचालन गरेको हो ।

इन्डिया टुडेका अनुसार जैश ए मोहम्मदका हसनैन अली, आदिल हुसैन र मोहम्मद उस्मान नेपालको बाटो हुँदै भारतमा घुसेका छन् ।

समाचारमा लेखिए अनुसार उनीहरु तीनैजना पाकिस्तानी नागरिक हुन् । उनीहरु भारतमा घुसेको खबरले सुरक्षा निकायमा हलचल पैदा भएको समाचारमा उल्लेख छ ।

नेपाल भएर भारत प्रवेश गरेको समाचारमा उल्लेख भएपनि उनीहरु नेपाल–भारत सीमाको कुन नाका भएर बिहार प्रवेश गरे र कहिले प्रवेश गरे भन्ने उल्लेख छैन ।

भारतको न्युज–एट्टिनको अनलाइन संस्करणमा लेखिए अनुसार उनीहरुको हुलिया र परिचयसहितको विवरण प्रहरीका सबै युनिटहरुमा पठाइएको छ र सतर्क रहन भनिएको छ ।

ईटिभी भारतका अन्सार बिहारका खासगरी सितामढी, मधुबनी, पश्चिम चम्पारण, अररिया, किशनगञ्ज र सुपौलका प्रहरीहरुलाई अलर्टमा राखिएको जनाएको छ र संदिग्ध गतिविधिलाई निगरानी गर्न भनिएको छ ।

यसअघि सन् २०२४ मा पनि नेपालबाट आतंकवादी घुसेको भन्दै तीन जनालाई भारतीय सुरक्षाकर्मीहरुले पक्राउ गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *