सामाजिक फीड-
जनकपुरधाम, भदौ १० गते ।
बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ ।
पर्सा बहुदरमाईका स्थायी बासिन्दा भइ हाल प्रसौनी–६ बेलहियामा बस्दै आएका स्मार्ट कोचिङका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको नेतृत्वमा रहेको समूहले वडा कार्यालयमै बन्धक बनाई कुटपिट गरेको हो ।
साउन २८ गतेको घटनाको भिडियो सामाजिक सञ्जालमा बाहिरिएको हो । भिडियोमा शिक्षक यादवलाई अर्धनग्न अवस्थामा, हातखुट्टा बाँधेर पाटामा फर्काएर कुटिरहेको देखिन्छ ।
‘कालर समातेर लगेपछि वडाध्यक्ष कुशवाहाले नलकटुवा देखाएर भित्र बस्न भने । भित्र लगेर अर्धनग्न बनाए, हातखुट्टा बाँधे र ३–४ लात हाने । त्यसपछि लगातार कुटपिट गरियो,’ शिक्षक यादवले घटनाबारे बताए ।
उनका अनुसार सो बेला वडाध्यक्ष कुशवाहा रक्सी सेवन गरेका थिए र अन्य आठ जना व्यक्तिसहित बसेर कुटपिट गरेका थिए । वडाध्यक्षले सादा कागजमा जबरजस्ती औंठाछाप र हस्ताक्षर गराएको र “मारेर फालिदिन्छु“ सम्म धम्की दिएको यादवको आरोप छ ।
घटनापछि पीडितले जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका थिए । जाहेरीको आधारमा वडाध्यक्ष कुशवाहालाई पक्राउ गरी शरीर बन्धक र कुटपिटसम्बन्धी मुद्दामा कारबाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
गाउँपालिका अध्यक्ष विनोद प्रसाद जयसवालले पनि जाहेरी दर्ता भएपछि प्रहरीको अनुसन्धान सुरु भएको बताए ।
वडाध्यक्ष कुशवाहा माओवादी केन्द्रबाट निर्वाचित हुन् । घटना सार्वजनिक भएपछि माओवादी केन्द्रले उनलाई पार्टी सदस्यता ६ महिनाका लागि निलम्बन गरेको जनाएको छ ।