Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, भदौ ८ गते ।

वीरगन्जमा हैजाको संक्रमण बढ्दै गएको छ । आज साँझ ८ बजेसम्मको अद्यावधिक विवरणअनुसार, संक्रमितको संख्या ७१ पुगेको वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।


जनस्वास्थ्य अधिकृत सुमनचन्द्र ठाकुरका अनुसार शनिबार रातिसम्म ४२ जनामा संक्रमण पुष्टि भएको थियो भने आइतबार थप २९ जना संक्रमित फेला परेका छन् ।


हालसम्म नारायणी अस्पतालमा २६ जना, तराई हस्पिटलमा २५ जना, नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा ९ जना, भवानी अस्पतालमा ३ जना, वीरगन्ज हेल्थकेयर हस्पिटलमा २ जना, अलि अर्थो ट्रमा सेन्टरमा २ जना, नारायणी सेन्ट्रल अस्पतालमा २ जना र मंगलम डायग्नोसिस सेन्टरमा २ जनामा हैजा पुष्टि भएको छ । सबै संक्रमित उपचाररत छन् ।

संक्रमण भएका बिरामीहरू वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३, ८, ११, १२, १३, १४ र १६ का बासिन्दा रहेको जनाइएको छ ।


त्यसैगरी, वीरगन्जका विभिन्न अस्पतालहरूमा झाडापखाला र हैजाको शंका गरिएका गरी १६१ जना बिरामी उपचाररत छन् । सिकिस्त झाडापखालाका र शंकास्पद हैजा बिरामी थपिने क्रम अझै जारी रहेको स्वास्थ्य शाखाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *