Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
वीरगन्ज, भदौ ८ गते ।

वीरगन्ज महानगरमा हैजा (कोलेरा) समुदायस्तरमै फैलिएको पुष्टि भएको छ। शुक्रबार पहिलोपटक वडा नम्बर १२ मुर्ली टोलका तीन जनामा संक्रमण देखिएकोमा शनिबार साँझसम्म संक्रमितको संख्या बढेर ३६ पुगेको छ ।

पर्सा स्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरका अनुसार संक्रमण वीरगन्ज महानगरपालिकाका वडा नम्बर ३, ११, १२, १३ र ३० मा फैलिएको छ ।


वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखा प्रमुख सुमनचन्द्र ठाकुरका अनुसार हाल नारायणी अस्पतालमा १३ जना, तराई अस्पतालमा १२ जना, नेशनल मेडिकल कलेजमा ५ जना, अलि अर्थो सेन्टरमा ४ जना र भवानी अस्पतालमा २ जना हैजा संक्रमित उपचाररत छन् ।


झाडापखाला र हैजाका शंकास्पद बिरामीसहित वीरगन्जका विभिन्न अस्पतालमा हाल २०० भन्दा बढी बिरामी उपचार गराइरहेका छन् । बिरामी थपिने क्रम अझै जारी छ ।


नारायणी अस्पतालमा बिरामीको चाप अत्यधिक भएपछि शय्या अभावका कारण बरन्डामा राखेर उपचार गर्नुपर्ने अवस्था आएको अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहले बताए। उनका अनुसार सो अस्पतालमा मात्रै १३ जनामा हैजा पुष्टि भइसकेको छ र झाडापखालासहित ३० भन्दा बढी बिरामी उपचाररत छन् ।

यसबीच, हैजाका शंकास्पद दुई बिरामीको मृत्यु भएको छ । शुक्रबार नारायणी अस्पतालमा ३५ वर्षीय पुरुष र वीरगन्ज हेल्थकेयर अस्पतालमा १९ वर्षीया युवतीको मृत्यु भएको हो। डा. सिंहका अनुसार दुवैलाई झाडापखालाबाट सिकिस्त भएपछि अस्पताल ल्याइएको थियो तर ल्याउँदा मृत्यु भइसकेको थियो । यधपी मृत्युको कारण पुष्टि भइसकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *