सामाजिक फीड-
जनकपुरधाम, भदौ २ गते ।
छोरासँगको विवादको निहुमा सर्लाहीको हरिपूर्वा नगरपालिका ६ का शिक्षक रामपुकार यादवको हत्या भएको खुलेको छ । हत्याका मुख्य योजनाकार भने एकवर्ष अघि गोली दागेर श्रीमतीको हत्या र बुबालाई घाइते बनाएका फरार अभियुक्त रहेको पाइएको छ ।
हत्या आरोपमा सर्लाही प्रहरीले हत्यामा प्रयोग भएका मोटरसाइकलमा हभियारधारी बोकेर आएका हरिपूर्वा नगरपालिका ५ का २६ वर्षीय धर्मेन्द्र भन्ने धिरेन्द्र राय रहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राइले जानकारी दिए ।
डिएसपी राइका अनुसार शुक्रबार राति साढे ८ बजेतिर धिरेन्द्रले बी.आर. ३० ए.जी २३५४ नम्बरको अपाचे मोटरसाईकलमा पछाडी ल्याएका व्यक्तिले शिक्षक रामपुकारलार्य टाउकोमा गोली दागेर फरार भएका थिए । रामपुकारलाई उपचारको लागि महोत्तरीको जानकी एकेडमिक हस्पिटल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको थियो । यता गोली दागेर भाग्ने क्रममा मोटरसाइकल हरिपुर्वा नगरपालिका ७ बसन्तपुर–बाँके–संग्रामपुर सडकखण्डमा दुर्घटना भएको थियो । सो क्रममा घाइते भएका चालक धिरेन्द्र पक्राउ परेका थिए । उनलाई सर्लाहीको लालबन्दी स्थित मोडेल अस्पतालमा उपचारार्थ लगि थप उपचारको जनकपुर प्रादेशिक अस्पताल ल्याइएको थियो । उपचार पश्चात शनिबार सर्लाही प्रहरीले हिरासतमा लिएर अनुसन्धान अघि बढाएको छ ।
डिएसपी राईका अनुसार धिरेन्द्रको रामपुकारका छोरा सुमितसँग केही अघि विवाद भएको थियो । सो विवादको निहुमा धिरेन्द्रले रामपुकारको हत्या योजना बनाएको प्रारम्भिक अनुसन्धन र उनको बयानबाट खुलेको डिएसपी राईको भनाइ छ ।
सर्लाही प्रहरीका अनुसार धिरेन्द्र आफ्नै श्रीमतीको हत्या र बुबालाई गोली प्रहार गर्ने फरार अभियुक्त हुन् । १० असोज २०८१ म राति आफ्नै श्रीमती चित्रलेखा कुमारी यादवको गोली दागेर हत्या गरेका थिए । गोली प्रहार गर्दा बुवा राम दिनेश घाइते भएका थिए ।
धिरेन्द्र विरुद्ध बुवा राम दिनेश रायले नै १४ असोज २०८१ मा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा छोराविरुद्ध कर्तब्य ज्यान तथा ज्यान मार्ने उद्योग कसूरमा जाहेरी दिएका थिए । प्रहरीको खोजीमा रहेका धिरेन्द्रले फेरि पनि अर्को अपराधमा संलग्न भएको प्रहरीको अनुसन्धन छ ।
उनको मोटरसाइकलमा पछाडि सवार भएर आएका व्यक्ति अझै फरार छन् । उनको खोजी गरिरहेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी सरोज राइले जानकारी दिए ।
घटनास्थलबाट गोलीका खोका थान–१ थान, धिरेन्द्रको सर्लाही मलंगवा नगरपालिका ९ स्थित डेरा सुशिल साहको घरबाट नलकटुवा पेस्तोल थान–१ र फायर भइसकेको गोलीको खोका थान– १ समेत बरामद भएको प्रहरीले जनाएको छ । धिरेन्द्रलाई शनिबारदेखि लागू हुने गरी कर्तव्य ज्यान मुद्दामा ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।