सामाजिक फीड-
जनकपुरधाम, साउन
मधेश प्रदेशका खडेरी प्रभावित आठ जिल्लामा अहिलेसम्म करिब ७७ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । कृषि विकास निर्देशनालयका निर्देशक जितेन्द्र यादवका अनुसार सबैभन्दा बढी रोपाइँ बारामा ९५ प्रतिशत पुगेको छ भने सबैभन्दा कम महोत्तरीमा ६१.५ प्रतिशत मात्र भएको हो ।
प्रदेशको कुल पाँच लाख ४२ हजार ५८१ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये तीन लाख ७२ हजार ६४५ हेक्टरमा धान रोप्ने परम्परा रहेकामा हालसम्म दुई लाख ८५ हजार ३३५ हेक्टरमा रोपाइँ भएको छ ।
यादवका अनुसार पर्याप्त वर्षा नपरे पनि बोरिङमार्फत रोपाइँको क्षेत्रफल बढेको हो। बारा र पर्सामा गण्डक नहर, सप्तरीमा कोशी, र सर्लाही तथा रौतहटमा बागमतीबाट किसानले सिँचाइ पाएका छन्। तर, धनुषामा कमला नदी सुक्दा समस्या भएको छ ।
यस वर्ष प्रदेशमा अधिकतम ८० प्रतिशतसम्म मात्र रोपाइँ हुने अनुमान गरिएको छ । ढिलो रोपाइँका कारण कुल उत्पादनमा करिब २७ प्रतिशत कमी हुने निर्देशक यादवको अनुमान छ ।
सुक्खा र खडेरी प्रभावित क्षेत्रका किसानलाई सहयोग गर्न भूमिगत सिँचाइ व्यवस्थापन कार्यक्रम अन्तर्गत प्रदेश सरकारले राहत घोषणा गरेको छ । यसका लागि हालसम्म २२ हजार ५२ किसानले आवेदन दिएका छन् ।