Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन २२ गते ।

धनुषाको बटेश्वर गाउँपालिका–३ का रामचन्द्र शाहको खेतमा पोल गाडेर ट्रान्सफर्मर राखिएको थियो । विद्युत् प्रवाह गर्न तार मात्र जडान गर्न बाँकी थियो । विद्युत जडान गरेर बोरिङ चलाउने सुरसार गरिरहेको बेला साउन १० गते राति ट्रान्सफर्मर नै चोरी भयो ।

पाँच वर्षअघि बटेश्वर गाउँपालिकाले गाडेको बोरिङ यसपालिको खडेरीका कारण सञ्चालनमा ल्याएर सिंचाइ गर्ने तयारी भइरहेको बेला ट्रान्सफर्मर चोरी भएपछि रामचन्द्रसहितका किसान निराश भएका छन् ।

यो घटना एक उदाहरण मात्र हो । मधेश प्रदेशमै पछिल्लो समय ट्रान्सफर्मर चोरीको घटना बढ्दै गएको छ । आर्थिक वर्ष २०८१।०८२ मा आठवटै जिल्लामा २७ वटा ट्रान्सफर्मर चोरीको घटना भएको छ ।

मधेश प्रदेश प्रहरी कार्यालयले उपलब्ध गराएको तथ्यांक अनुसार रौतहटमा ७ वटा, पर्सामा ८ वटा सो आवमा चोरी भएको हो ।
यस्तै धनुषामा ५, सिरहामा ४, महोत्तरी र सर्लाहीमा २–२ वटा र सप्तरीमा १ वटा ट्रान्सफर्मर चोरी भएको मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता डिएसपी विजय यादवले जानकारी दिए ।

त्यस अघिल्लो आ.व. २०८०।०८१ मा मधेश प्रदेशमा १३ वटा मात्र ट्रान्सफर्मर चोरी भएको थियो । त्यस्तै आ.व. २०७९।०८० मा मात्र ५ वटा चोरी भएको थियो ।

प्रायः सिंचाइको लागि खेतवारीमा जडान गरिएको ट्रान्सफर्मर चोरी हुन थालेपछि खडेरीमा किसानमाथि झन् पीडा थपिँदै गएको छ । ट्रान्सफर्मरको बढ्दो चोरी नेपाल विद्युत् प्राधिकरणका लागि समेत टाउको दुखाइको विषय बन्दै आएको छ ।

विद्युत् प्राधिकरण वितरण केन्द्र महेन्द्रनगर सखुवाका प्रमुख प्रविनकुमार मिश्र चोरी बढेपछि यसको सुरक्षाका लागि सिचाइँमा प्रयोग भएका ट्रान्सफर्मरलाई वेल्डिङ गर्न थालिएको बताउँछन् ।

‘गाउँमा वेल्डिङ गर्नुबाहेक अरु विकल्प नै भएन,’ उनले भने, ‘वेल्डिङ भएकोमध्ये पनि एउटा चोरीको प्रयास भएको थियो, तर उनीहरू सफल भएनन् ।’

ट्रान्सफर्मर चोरीको घटना बढेपनि चोर भने पक्राउ पर्ने गरेका छैनन् । नत चोरीको ट्रान्सफर्मर बरामद हुने गरेको छ । खास गरी चोरले ट्रान्सफर्मरबाट तामाको क्वाइल झिक्ने गरेका छन् ।

विद्युत् प्राधिकरण मधेश प्रदेशका प्रमुख शम्भु कुशियत यादव प्रदेशमा हालसम्म ट्रान्सफर्मर चोरीमा संलग्न व्यक्ति पक्राउ नपरेको बताउँछन् । ‘अहिले यो समस्या एकदमै बढेपछि प्रहरी प्रशासनसँग समन्वय गरेर सामान कसरी बरामद गर्न सकिन्छ, कसरी यसमा संलग्न गिरोहसम्म पुग्न सकिन्छ भनेर छलफल गरिरहेका छौं,’ उनी भन्छन् ।

प्रहरी भने आफूहरूले यो विषयलाई प्राथमिकता दिएर आरोपीलाई समात्ने प्रयास गरिरहेको बताउँछ ।

मधेशका प्रहरी प्रमुख उमा प्रसाद चतुर्वेदीले तत्काल सूचना नआउँदा आरोपीसम्म पुग्न गाह्रो हुने गरेको उल्लेख गर्दै भन्छन्, ‘यद्यपि, अहिले निगरानी बढाइएको छ ।’

चोरीको समस्या बढेपछि यसलाई हल गर्न मधेश प्रहरीले वेग्लै किमिसले अनुसन्धान गरिरहेको र चाँडै नतिजा देखिने उनी बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *