सामाजिक फीड-
जनकपुरधाम, साउन २१ गते ।
भारततर्फ तस्करी गर्न राखिएको मदिरा नियन्त्रणमा लिन खोज्दा प्रहरीको चलाएको गोली लागेर सप्तरीमा एक युवकको मृत्यु भएको छ ।
राजगढ गाउँपालिका–२ कमलपुर निवासी ३५ वर्षीय लालु यादवको प्रहरीको गोली लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।
डिएसपी बस्नेतका अनुसार सोमबार राति करिब १० बजे ठूलो परिमाणमा मदिरा भण्डारण गरी भारत निकासीको तयारी गरिएको भन्ने सूचनाका आधारमा प्रहरी टोली खटिएको थियो।
प्रहरी निरीक्षक वीरेन्द्र कुमार यादवको नेतृत्वमा गएको १० जनाको टोलीमाथि तस्कर समूहले ढुंगामुढा प्रहार गर्दै आक्रमण गरेको थियो।
आत्मरक्षाका लागि प्रहरीले चार राउन्ड हवाई फायर गरेको र त्यसक्रममा लालु यादवको बायाँ तिघ्रामा गोली लागेको डिएसपी बस्नेतले बताए ।
गम्भीर घाइते भएका यादवको उपचारका क्रममा राति साढे ११ बजे गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालमा मृत्यु भयो ।
घटनास्थलबाट प्रहरीले ८० कार्टुन मदिरा बरामद गरेको छ भने ढुंगामुढाबाट दुई जना प्रहरी पनि घाइते भएका छन् ।
प्रहरीका अनुसार आक्रमणकारीको प्रतिरोधका कारण बाँकी मदिरा नियन्त्रणमा लिन कठिनाइ भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।