Samajik Feed – News Portal from Nepal

सामाजिक फीड, जनकपुरधाम, १९ साउन । बरेलीको किला थानाअन्तर्गत बारादरी मोहल्लामा ड्रोन चोरको अफवाहकै बीच एक नेपाली मूलकी युवतीलाई भीडले खम्बामा बाँधेर निर्मम रूपमा कुटपिट गरेको घटना सार्वजनिक भएको छ।

पीडित युवतीको नाम सुस्मिता शालु उर्फ काजल हो। उनी घरको छतमा फोनमा कुरा गरिरहेकी थिइन्। तर, केही स्थानीयले उनलाई ‘ड्रोन चोर’ ठानेर घेराबन्दी गरे। अचानक भीडले दवाब बढाउँदै गएपछि, डरले आत्तिएकी काजल छतबाटै हाम फाल्न बाध्य भइन्। यस क्रममा उनको खुट्टा गम्भीर रूपमा चोटिल भयो।

https://x.com/hnibreaking/status/1951603599424847935

तर, घाइते भएकी उनीमाथि पनि भीडको क्रूरता रोकिएन। खम्बामा बाँधेर निर्घात कुटपिट गरियो। रगतले लतपतिएकी उनले हात जोड्दै “प्रहरीलाई बोलाउनुहोस्, म भाग्दिनँ” भनेर गुहार मागिन्, तर भिडले सुन्नुको सट्टा डोरी ल्याएर बाँधी यातना दियो।

सूचना पाउनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुग्यो र युवतीलाई तत्काल जिल्ला अस्पताल पुर्‍यायो। अहिले उनको उपचार चलिरहेको छ।

प्रहरीले यस घटनामा संलग्न चार जनालाई पक्राउ गरिसकेको छ भने अन्य फरार अभियुक्तहरूको खोजी जारी छ।

यो घटना दुई दिनअघि भोजीपुरा क्षेत्रमा अज्ञात व्यक्तिलाई भीडले पिटेर हत्या गरेको घटनापछि भएको हो। बरेलीमा पछिल्ला वर्षमा चोर ठानेर अज्ञात तथा मानसिक समस्याबाट पीडित व्यक्तिहरूलाई समेत मारपिट गर्ने घटना दोहोरिइरहेका छन्।

प्रहरीले बारम्बार अफवाहमा नफस्न र अफवाह फैलाउनेहरूमाथि कडा कारबाही हुने चेतावनी दिँदै आएको छ। तर, यस्ता घटनाले देखाएको छ, चेतावनीको शब्दले मात्र भीडको मानसिकता रोक्न नसक्ने अवस्थासम्म समाज पुगेको छ।
https://x.com/bstvlive/status/1951658152853684391

Leave a Reply

Your email address will not be published. Required fields are marked *