Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन १६ गते ।

बारामा ऐलानी जग्गा विवादमा घेरा हालेर कोदालो प्रहार गरी ज्यान मार्न खोजेको दावीसहित प्रहरीमा ७ जनाविरुद्ध जाहेर परेको छ । बाराको बारा गढी गाउँपालिका ३ का सुन्दरपुरका ४० नन्दलाल चौधरी र २७ वर्षीय हरिन्द्र पासवानसमेतले ज्यान मार्ने उद्योगमा जिल्ला प्रहरी कार्यालय बारामा जाहेरी दिएका हुन् ।

बारागढी गाउँपालिका ३ नयका टोलाका ४७ वर्षीय बिहारी पण्डित, ४० वर्षीय गोरख पंडित, ६० वर्षीय ओकिल मिया, ३० वर्षीय जमिल अखतर मिया, ४१ वर्षीय शिवचन्द्र यादव, ३० वर्षीय सलाउदिन मिया र २५ वर्षीय अलाउदिन मियाविरुद्ध जाहेरी परेको हो ।

जाहेरी अनुसार २५ असार दिउँसो साढे १२ बजे रामएकवाल चौधरी २० वर्षदेखि जोतभोग गर्दै आएको सुन्दरपुरस्थित ऐलानी जग्गामा पुगेका बेला जलिम अख्तर मियाले उक्त जग्गा आफ्नो भएको दाबी गर्दै विवाद सुरु गरेका थिए । त्यसक्रममा जलिमले अन्यलाई बोलाएर घेरा हाल्न लगाए र शिवचन्द्र यादवले कोदालोले रामएकवालको टाउको तथा शरीरका अन्य भागमा प्रहार गरी ज्यान लिन खोजेको उल्लेख छ । त्यस क्रममा रामएकवालका छोरा दिपेन्द्र चौधरीसमेत घाइते भएका छन् ।

रामएकवाल गम्भीर घाइते भई हाल २० दिनदेखि काठमाडौंस्थित न्युरो अस्पतालमा उपचाररत छन् । उनका दाजु चन्देश्वर चौधरीका अनुसार आर्थिक अभावका कारण औषधि किन्नसमेत समस्या भइरहेको छ ।

‘प्रहरीले दुई लाख रुपैयाँ प्रतिवादीहरूसँग उठाएर उपचारमा सहयोग गर्ने भनेको थियो तर हालसम्म दिएन । यति गम्भीर घटनामा संलग्न प्रतिवादीहरू खुलेआम हिँडिरहेका छन्, तर कसैलाई पक्राउ गरिएको छैन,’ चन्देश्वरको गुनासो छ ।

यता बाराका प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङ् यस घटनबारे अनभिज्ञता जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *