सामाजिक फीड-
जनकपुरधाम, साउन ५ गते ।
धनुषामा मिटरब्याजीको मानसिक यातनाको कारण एक ऋणीले आत्महत्या गरेकी छन् । मिथिला नगरपालिका–८, जमुनिबासकी ३४ वर्षीया विमला कुमारी ध्रोङचिङ मगरले विद्यालयको कक्षाकोठामा झुन्डिएर ज्यान दिएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार मगरले साउन १ गते बिहान करिब ४ः४५ बजे जमुनिबासस्थित श्री जनता राष्ट्रिय आधारभूत विद्यालयको बाल विकास कक्षामा सलको पासो लगाई झुन्डिएर आत्महत्या गरेकी हुन् । उनी सोही विद्यालयमा वालविकास कक्षामा पढाउने शिक्षिका थिइन् ।
धनुषाका प्रहरी प्रवक्ता डिएसपी बरुणबहादुर सिंहका अनुसार घटनास्थल नजिकै राखिएको उनको स्कुटीको डिक्कीबाट एक सुसाइड नोट पनि फेला परेको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानमा मिटरब्याजी जनकपुरधाम–९ का ५५ वर्षीय राजकिशोर यादवको मानसिक यातना र धम्कीका कारण मगरले आत्महत्या गरेको खुलेको प्रहरीले जनाएको छ ।
अनुसन्धानका क्रममा मगरले यादवसँग ३ लाख २० हजार रुपैयाँ ऋण लिएकी थिइन् । ऋण फिर्ता गरिसके पनि यादवले ‘खाली चेक’ राखी त्यसमा ४५ लाख रुपैयाँ देखाएर बारम्बार धम्की दिँदै आएका थिए। पटक–पटक मानसिक यातना, अपमान र जेल हाल्ने चेतावनी दिँदै गर्दा मगर तनावमा परेकी थिइन् ।
मृतकका परिवारका अनुसार असार ३२ गते यादव घरमै आएर धम्क्याउँदै ‘पैसा नदिए चेक बाउन्स गराएर जेल हाल्छु’ भन्दै डराएका थिए । परिवारका सबै सदस्यलाई ऋणको यथार्थ थाहा थिएन। त्यस दिनको धम्कीपछि उनी तनावमा परिन् र राति सुसाइड नोट लेखेर बिहान विद्यालयको कोठामा झुन्डिएको अवस्थामा फेला परिन् ।
प्रहरीले साउन २ गते यादवलाई पक्राउ गरी आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गरेको छ । यादवको घरबाट विभिन्न व्यक्तिका नाममा भएका ९ थान सक्कल र प्रतिलिपि तमसुक, २३ थान सक्कल जग्गाधनी प्रमाणपत्र, बैंकका भौचर र चेकहरू समेत बरामद गरिएको प्रहरी प्रवक्ता डिएसपी सिंहले जानकारी दिए ।