Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन ४ गते ।

रौतहटका पत्रकार रविन्द्र प्रजापति आफ्नै घरमा झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । कटहरिया नगरपालिका–५ निवासी अन्दाजी ३० वर्षीय प्रजापति शनिबार राति करिब ९ बजे घरभित्रै झुण्डिएको अवस्थामा फेला परेका हुन्।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी दीपक रायका अनुसार गम्भीर अवस्थामा उनलाई उद्धार गरी परिवारका सदस्यले स्थानीय स्वास्थ्य चौकी र त्यसपछि गरुडास्थित ग्राण्डी अस्पताल पु¥याएका थिए । तर, राति १० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

प्रजापति कटहरिया म्युजिकल एफएममा कार्यरत थिए। प्रहरीका अनुसार उनी केही दिनदेखि पारिवारिक तनावमा थिए । प्रारम्भिक अनुसन्धानमा त्यसै कारणले उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

यद्यपि, जेठको अन्तिमतिर समाचारको विषयलाई लिएर कटहरिया नगरपालिकाका मेयर जयप्रकाश जयसवालले उनलाई धम्की दिएको विषयलाई लिएर तनावमा रहेको कारण आत्महत्या गरेको हुन सक्ने अडकलबाजी भइरहेको छ ।

उनको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । घटनाबारे थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *