सामाजिक फीड-
जनकपुरधाम, असार ३० गते।
सर्लाहीमा पिकअप र मोटरसाइकल एक आपसमा ठोकिँदा दुई नेपाली सेनासहित पाँचजना घाइते भएका छन् । आज बिहान पौने ११ बजेतिर ईश्वरपुर नगरपालिका–१२ र १३ को सीमामा, बाँकेस्थित रेल्वे ट्रयाक नजिक भएको हो ।
प्रदेश ०३–०२८ प २१९१ नम्बरको मोटरसाइकल र बा ८ च ६५ नम्बरको पिकअप एकआपसमा ठोक्किएपछि दुबै गाडीमा आगलागीसमेत भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । मोटरसाइकल पूर्णरुपमा जलेको छ भने पिकअपको अगाडिको भाग जलेको छ ।
घाइतेमध्ये मोटरसाइकल चालक ईश्वरपुर–१५ का २३ वर्षीय चन्द्रदेव धामी र पछाडि सवार स्थानीय २२ वर्षीय प्रशेस चौधरी तथा २१ वर्षीय अमित चौधरी रहेका छन् ।
चन्द्रदेव नेपाली सेनाको भगवती दल गण, ईटहरीमा कार्यरत सिपाही हुन् भने प्रशेस पनि नेपाली सेनामा कार्यरत रही हाल मध्य पश्चिम पृतना, बुटवलमा काजमा छन्। दुर्घटनापछि भएको आगलागीमा चन्द्रदेवको शरीरको करिब ८५ प्रतिशत भाग जलेको र उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, पिकअप चालक हरिवन नगरपालिका–३, डाबरी टोलका ४० वर्षीय रामएकबाल महतो र पिकअपमा सवार हरिवन–२ का ६५ वर्षीय लेखनाथ उपाध्याय पनि घाइते भएका छन् ।
सवै घाइतेहरुको लालबन्दीस्थित मोडल अस्पतालमा उपचार भइरहेको र दुबै गाडी नियन्त्रणमा लिएर थप अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।