सामजिक फीड–
जनकपुरधाम, असार २९ गते-
जनमत पार्टीका निलम्बित केन्द्रीय उपाध्यक्ष दिपक साहमाथि आफ्नै पार्टीका केन्द्रीय सदस्यले कालोमोसो छ्यापेका छन् ।
शुक्रबारदेखि रौतहटबाट सुरु भएको जनसंवाद यात्रामा सहभागी साहमाथि शनिबार बिहान करिब ११ बजे बारा जिल्लाको गढीमाई नगरपालिका–३, दहियाचोकमा मोसो छ्यापिएको हो । साहका अनुसार केन्द्रीय सदस्य विकास सिंहको नेतृत्वमा उक्त घटना भएको हो
साहले आरोप लगाउँदै भने, ‘जनसंवाद यात्राको क्रममा खाना खाएर निस्किएको बेला अध्यक्ष सिके राउतका निकट विकास सिंहले मलाई कालोमोसो छ्यापे। यात्राले गर्दा निरन्तर धम्की आइरहेको थियो ।’
रौतहटबाट सुरु भएको जनसंवाद यात्रा निलम्बित उपाध्यक्ष साहको नेतृत्वमा, कोषाध्यक्ष इन्जिनियर सुरेन्द्र नारायण यादव र केन्द्रीय सदस्य बिरेन्द्र साह सोनारको अगुवाइमा सुरु गरिएको हो। उनीहरूले पार्टीभित्र लोकतन्त्र बलियो बनाउन र डा. राउतको परिवारवादी प्रवृत्तिको विरोधमा यो यात्रा थालेको बताएका छन् ।
उनीहरूको भनाइमा स्वतन्त्र मधेश गठबन्धनदेखि संघर्ष गरेर पार्टीलाई यहाँसम्म ल्याउने नेताहरूलाई डाक्टर राउतले अनुशासनको नाममा दण्डित गर्ने र फसाउने काम गरिरहेका छन् ।
यसबीच, जनमतका अर्का केन्द्रीय सदस्य विपी साहले मोसो छ्यापिएको घटनालाई राजनीतिक र लोकतान्त्रिक संस्कार विपरीत भएको भन्दै आपत्ति जनाएका छन्। उनले घटनाको गम्भीर छानबिन हुनुपर्ने माग गरेका छन् ।